मनोरञ्जन

हात्ती जोडीको धुमधाम विवाह

हात्ती जोडीको धुमधाम विवाह

कुनै प्रेमी २९ किलोमिटरको समुद्री मार्ग तरेर आफ्नी प्रेमिकालाई भेट्छ भनेर पत्याउनै कठिन हुन्छ । त्यो पनि ज्वारभाटा उठिरहने, ठूला सर्प र ह्वेल माछाजस्ता डरलाग्दो समुद्री जीवहरु भएको सागरमा यो सम्भव होला त ? तर यो सत्य हो, अडेमान निकोबार द्वीप किनारको विशाल वनमा रहने सक्सेन नामको हात्ती र डेलिला नामकी ढोइको अमर प्रेम कथामा यो अचम्मलाग्दो कुरा सम्भव भएको थियो । 

रुखमा हाँगा र काठका मुडाहरु बटुल्ने काममा प्रयोग गर्न त्यहाँका वनसंरक्षक विभागले ती हात्ती जोडीलाई अन्यत्रबाट त्यहाँ ल्याएको थियो । लामो समयसम्म संगै बस्दा र हिँडडुल गर्दा सेक्सन र डेलिलाबीच प्रेम बसेछ । निकटता बढ्दै गयो । तिनीहरु खानेकुरा पनि एक्लै नखाने र छुट्टिएर एक्लाएक्लै नहिँड्ने अवस्थामा पुगे । जसले गर्दा वन संरक्षण विभागका कर्मचारीहरुलाई हात्ती र ढोइलाई बेग्लाबेग्लै काम लगाउन कठिन भयो । वन अधिकारीले ती प्रेमी–प्रेमिकालाई अलग्गै राखिदिन निर्णय गरे । 

प्रेमी सेक्सनलाई एउटा जहाजमा राखेर पूर्वी सागरको तटवर्ती टापु हेनरी लरेन्स लगियो । ती दुवैले प्रेमी–प्रेमिकालाई सधैंका लागि छुटाउने प्रयास हुँदैछ भनेर तत्कालै त बुझेनन, जब उनीहरुले विछोडको संकेत पाए, दुवै प्रेमी प्रेमिका बेस्सरी कराए । उनीहरुको वन नै थर्कने चिच्याहटतिर कसैले ध्यान दिएनन । 

२९ किलोमिटरको जहाज यात्रापछि भाले हात्तीलाई हेनरी लरेन्स टापुको वन अधिकृतलाई जिम्मा दिइयो । आफ्नी प्रेमिकादेखि साँच्चै टाढा भएको थाहा पाएपछि उसलाई खान, बस्न र हिँड्न मन लागेन । एक भावुक प्रेमीको जस्तै उसको मुहार उदास र खिन्न देखिन्थ्यो । बेला बेलामा उसका आँखाबाट आँसु टप्किरहेको देखिन्थ्यो । अँध्यारो रातमा सारा जंगली जनावरहरु निद्रामा थिए । तर , सेक्सनलाई निद्रा आउन । उ यताउति हेर्दै समुद्री किनारसम्म आयो । 

अर्को दिन वन कर्मचारीले सेक्सनलाई देखेनन । टापूभरि जताततै खोजियो, अहँ हात्ती फेला परेन । वन हेरालु चिन्तित भए । एक दिन वित्यो, दुई दिन वित्यो  सेक्सनको पत्तो नलागेपछि अडेमान निकोवारका वन अधिकारीलाई हात्ती हराएको पत्र लेखियो । त्यसको प्रत्युत्तर उताबाट आयो । जसमा लेखिएको थियो– ‘सेक्सन रातभरिमा समुद्र पार गरेर प्रेमिका भएको ठाउँमा आइपुग्यो । 

उ आउँदा उसकी प्रेमिका निक्कै रमाई । सेक्सन नफर्कन्जेल डेलिलाले खाना पनि खाइन । झोक्राइ मात्र रही । अब जोडी नै रमाई रमाई खाना खाने, हिँडडुल र जलक्रिडा गर्न थालेका छन् ।’ यस्तो थाहा पाएपछि वन कर्मचारी आश्चर्य चकित भए । 

अर्को दिन एक अधिकृतले यी दुवै प्रेमी प्रेमिकाको ‘अमर प्रेम’ को कदर गर्नुपर्ने प्रस्ताव राखे । वन अधिकारीले उक्त प्रस्ताव स्वीकारे । वन पदाधिकारीहरुको वैठकले दुवैको भव्य विवाह गर्ने निधो गर्यो । स्थानीय गाउँले भेला भए । प्रेमी–प्रेमिकाको शरीर सफा गरियो । फूलमालाले सिंगारियो । विभिन्न परिकारका खानेकुरा खुवाइयो । रातभर नाच, गान, बजान गरेर हात्तीको विहे सम्पन्न गरियो । 

जनावरको पनि मान्छेको भन्दा पनि घनिष्ठ प्रेम हुन्छ र उनीहरुको पनि परस्पर विवाह हुन्छ भन्ने हात्तीको यो अमर प्रेमले प्रमाणित गरेको छ । 
  
 

प्रेम कथा २९ किलोमिटर

विशेष