खेल

टी–१० लिगः आज पनि खेल्दै सन्दीप, कुन टिमसँग हुँदैछ भिडन्त?

टी–१० लिगः आज पनि खेल्दै सन्दीप, कुन टिमसँग हुँदैछ भिडन्त?

काठमाडौंः यूएईमा जारी टी–१० लिगमा आज पनि नेपाली क्रिकेटर सन्दीप लामिछानेआवद्ध टिम कर्नाटक टस्कर्स खेल्दै छ । ‘सुपर लिग’को आफ्नो दोस्रो खेलमा बिहीबार कर्नाटकले कलन्दर्सको सामना गर्न लागेको हो । कर्नाटक र कलन्दर्सबीचको खेल नेपाली समयअनुसार साँझ ७ः३० बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा सन्दीपको टिमले ४ खेलमा एकमा जीत र २ म्याचमा हार बेहोरेको छ । एक खेल भने वर्षा कारण रद्द भएको छ । ‘सुपर लिग’अन्तर्गत बुधबार मराठा अरबियन्ससँगको खेलमा वर्षा बाधक भएपछि दुवै टिमले एक–एक अंक बाँडेका थिए । जारी सिजनमा सन्दीपले ४ खेलमा ४ विकेट लिएका छन् । उनले पहिलो, चौथो खेलमा १–१ र दोस्रो म्याचमा २ विकेट लिएका थिए । तेस्रो खेलमा भने सन्दीप मंहगा सावित भए ।

डेक्कन ग्लाडियटर्स विरुद्धको उक्त खेलमा उनले २ ओभरमा बिनाविकेट ३५ रन खर्चिएका थिए । पहिलो ओभरमा ५ रन मात्र दिएका सन्दीपले दोस्रो ओभरमा भने ३० रन खर्चिएका थिए । उनको ओभरमा विस्फोटक ब्याट्सम्यान किरण पोलार्डले लगातार ४ छक्का हिर्काएका थिए । सन्दीपले डेक्कनविरुद्धको खेलमा विकेट लिने मौका भने नदिएका हाेइनन् । आफ्नो दोस्रो ओभरको अन्तिम बलमा पोलार्डलाई ‘क्याच आउट’ गराउने मौका दिए पनि फिल्डरले त्याे अवसर गुमाउन पुगे । 

चौथो खेलमा सन्दीपले २ ओभरमा २५ रन दिएर १ विकेट लिन सफल भए । पहिलो ओभरमा बिनाविकेट १४ रन दिए पनि दोस्रो ओभरमा भने उनले टिमलाई सफलता दिलाएका थिए । उनले आक्रामक ब्याटिङ गरिरहेका इंग्लिश खेलाडी एडम लिथलाई ५० रनमा ‘क्याच आउट’ गराएका थिए । जारी प्रतियोगितामा सन्दीप ४ विकेटका साथमा सर्बाधिक विकेट लिनेको सूचीमा १५औँ स्थानमा छन् । 

सन्दीपको भिडन्त आज कलन्दर्ससँग

टी–१० मा कलन्दर्सको कप्तानी इंग्लिश क्रिकेटर डेभिड मलानले सम्हालि रहेका छन् । कलन्दर्सले ४ खेलमा २ मा हार र एक खेलमा जित हासिल गरेको छ । टिम आबुधाबीसँगको खेल भने बराबरी हुँदा एक–एक अंक बाँडिएको थियो ।

कलन्दर्समा मलान बाहेक क्रिस जोर्डन, लउरी इभन्स, लुकि रोञ्ची, मुजीउर रहमान, लाहिरु कुमारा, टम ब्यान्टन लागयत नाम चलेका क्रिकेटर छन् । यता सन्दीपआवद्ध कर्नाटकमा हासिम अमाला (कप्तान), इभन लुईस, जनसन चार्ल्स, उपल थरंगा जस्ता अनुभवी क्रिकेटर रहेको छन् । 

पाकिस्तान सुपर लिग (पीएसएल) को लाहोर कलन्दर्स र टी–१० मा रहेको कलन्दर्सको टिम मालिक एकै हुन् । सन्दीपले पीएसएलमा लाहोर कलन्दर्सबाट खेलेका थिए । गत सिजनमा पीएसएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप योपटक महंगा मूल्यमा बिक्री हुने सम्भावना छ ।

पारसको टिमको आज छैन म्याच

यो सिजनको टी–१०लिगमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का पनि छन् । उनी टिम आबुधाबीबाट टी–१० मा जोडिएका हुन् । सुरुवातका २ खेलमा खेल्ने मौका पाएका पारसलाई पछिल्ला खेलमा भने प्लेइङ ११ मा समावेश गरिएको छ । उनले पहिलो खेलमा ३ र दोस्रो म्याचमा नटआउट १ रन बनाएका थिए । प्रशस्त ब्याटिङ गर्न नपाएका कारण पारसले टी–१० मा आफ्नो क्षमता प्रदर्शन गर्न सकिरहेका छैनन् ।

लगातार म्याच खेलिहरेको उनीआबद्ध आबुधाबीको खेल आज भने छैन । पारसको टिमले ५ खेलमा एकमा जित, २ म्याचमा हार बेहोरेको छ । २ खेलमा भने आबुधाबीले अंक बाँड्नु परेको छ । पहिलो खेलमा टाई म्याच खेल्दा र पाँच खेलमा वर्षा बाधक बन्दा आबुधाबीले अंक बाँड्नु परेको हो । पारसआवद्ध आबुधाबी ५ अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । 

सन्दीप लामिछाने कर्नाटक टस्कर्स र कलन्दर्स

विशेष