मुख्य समाचार

बस्तीमा छैनन् शौचालय, मठ–मन्दिरमा भने अर्ब खर्च

बस्तीमा छैनन् शौचालय, मठ–मन्दिरमा भने अर्ब खर्च

काठमाडौंः सिरहा कल्याणपुर नगरपालिका–८ मझौलियाका १३ विपन्न परिवारको घर भत्किएको तीन वर्ष भयो । संघीय सरकारले २०७३ सालमा घोषणा गरेको जनता आवास कार्यक्रमले घर नभएकालाई नयाँ घर बनाइदिने घोषणा गरेपछि उनीहरूका पुराना घर भत्काइएको थियो । तर, अहिलेसम्म कसैको पनि घर बनेको छैन । घर भत्काएपछि बिचल्लीमा परेका रुदल सदा भन्छन्, ‘हावाहुरी र वर्षाबाट जोगिन विद्यालयमा ओत लाग्दै आएका छौँ । सरकारले अझै घर बनाइदिएको छैन ।’

तर, प्रदेश–२ सरकारले आर्थिक वर्ष ०७५–७६ मा कल्याणपुरको मझौलिया बस्तीनजिकैको कल्याणपुर बजारमा दुर्गा मन्दिर जीर्णोद्धार गर्न ६५ लाख रुपैयाँ खर्च गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन, वातावरण मन्त्रालयले ६५ लाख र कल्याणपुर नगरपालिकाले १० लाख गरी ७५ लाख रुपैयाँको संयुक्त लगानीमा मन्दिर जीर्णोद्धार गर्न थालिएको हो । 

कल्याणपुर नगरपालिकाले मात्रै गत आर्थिक वर्षमा आफ्नो नगर क्षेत्रका २५ मठ–मन्दिरसम्बन्धी योजनामा एक करोड १६ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । स्थानीय फुलियादेवी सदा भन्छिन्, ‘हामीलाई बस्ने घर छैन, सरकार मन्दिर बनाइरहेछ ।’

स्थानीय तहको बजेट, नीति तथा कार्यक्रम पुस्तिका (स्थानीय राजपत्र) अनुसार आव ०७५–७६ मा मात्रै सिरहाका १७ स्थानीय तहले मठ–मन्दिर, मस्जिद, गुम्बा निर्माण तथा मर्मतसम्भारमा १४ करोड ४२ लाख रुपैयाँ खर्च गरेका छन् । मठमन्दिर निर्माणमा लगानी अघिल्ला आर्थिक वर्षहरूमा पनि उस्तै थियो । 

रामस्वरूप रामप्र्रसाद बहुमुखी क्याम्पस जनकपुरका पूर्वसहप्राध्यापक राजेन्द्र विमलले स्थानीय, प्रदेश र संघीय सरकारले सिँचाइ, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गर्नु साटो मठ–मन्दिरमा लगानी गरिरहेको बताए । ‘अनुत्पादक क्षेत्रमा खर्च गरेर विकास हुँदैन । स्थानीय तह, प्रदेश र संघबीच समन्वय नहुँदा आवश्यकताका धेरै क्षेत्रहरू छुटेका छन्,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

शौचालय मठ–मन्दिर

विशेष