आजको मौसमः उच्च हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौंः आज देशको उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पश्चिमको उच्च हिमाली तथा राति देशभरकै उच्च हिमाली भेगमा हिमपातको सम्भावना छ ।
शनिबार बिहान २४ घण्टे चेतवानी जारी गर्दै महाशाखाले भनेको छ, ‘उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेकाले ती स्थानमा सामान्य सतर्कता अपनाउन अनुरोध छ ।’ महाशाखाका अनुसार शनिबार बिहान पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी भूभाग सामान्यतया सफा छ ।
यसैगरी दिउँसो पश्चिमी र पहाडी भूभागमा आंशिकदेखि सामान्यसम्म बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । यस्तै राति पनि पहाडी भेगका एक–दुई स्थान हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् कँडेलले बताइन् ।
आज काठमाडौंमा उपत्यकामा पनि आंशिक बदलीको अवस्था छ तर पानी पर्ने सम्भावना नरहेको उनले बताइन् । यस्तै आइतबार दिउँसो पनि पहाडी भू–भागका एकर दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
यसैगरी सोमबार दिउँसो पनि पहाडी भेगकै एकर दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।मौसमविद्का अनुसार हाल देशमा पश्चिमी वायुको प्रभावले मौसम बदली भएको हो।
हिमपात मौसम