मनोरञ्जन

यी हुन् सलमान खानका १० प्रेमिका

यी हुन् सलमान खानका १० प्रेमिका

मुम्बईः बलिउड अभिनेता सलमान खान ५० वर्षका भए । ‍उमेर बढ्दै गए पनि उनी उद्योगका जल्दाबल्दा अभिनेतामा गनिन्छन् । सलमानससँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि तयार छन् ।

अविवाहित भए पनि सलमानसँग प्रत्येक समय कुनै न कुनै युवतीको नाम जोडिएकै हुन्छ । तर उनले कुनै पनि युवतीसँगको सम्बन्ध स्वीकारेका भने छैनन् । संगीता बिजलानीबाट सुरु भएको सम्बन्ध युलियासम्म जारी छ। सम्बन्ध जोडिने छुट्टिने क्रम जारी नै छ ।

संगीता बिजलानीलाई सलमान खानकी पहिलो प्रेमिका भनिन्छ । यो सम्बन्ध त्यो समयको हो जतिबेला सलमानभन्दा संगीता लोकप्रिय थिइन् । संगीता मोडल थिइन् भने सलमान आफ्नो करियर बनाउने कोसिस गरिरहेका थिए । दुवैले केही विज्ञापनमा सँगै काम गरेका थिए । त्यतिबेलैको दोस्ती प्रेममा बदलिएको थियो । विस्तारै सलमान स्टार बने संगीताले विवाह गर्न चाहिन् तर सलमान तयार भएनन् । र, उनीहरूको ब्रेकअप भयो । ब्रेकअपपछि उनीहरू साथी बने । संगीताले क्रिकेटर मोहम्मद अजहरुद्दिनसँग विवाह गरिन्।

कराँचीमा जन्मेर फ्लोरिडामा बढेकी सोमी अली सलमानकी फ्यान थिइन् । १६ वर्षको उमेरमा उनी सलमानलाई भेट्न मुम्बई आइन् । केही मोडलिङ गरेपछि उनी फिल्ममा प्रवेश गरिन् । त्यसपछि सलमानसम्म पहुँच बनाइन् । विस्तारै दुवै एकअर्कासँग नजिक भए र प्रेममा परे । सोमी सलमानलाई धेरै मन पराउँथिन् । ८ वर्षसम्म दुवै डेटिङमा रहे । सोमी सलमानसँग विवाह गर्न चाहन्थिन् तर सलमान विवाहको मुडमा थिएनन् । सलमानको मदिरा पिउने बानी र खराब व्यवहारका कारण उनी फ्लोरिडा फर्किन् ।

सञ्जय लीला भन्सालीले सलमान र ऐश्वर्या लिएर ‘हम दिल दे चुके सनम’ बनाउने घोषणा गरे । यसको छायांकनको क्रममा सलमान र ऐश्वर्या एकअर्कासँग नजिक भए । ऐश्वर्यालाई भेट्ने बित्तिकै सलमानको व्यवहार फेरियो । उनी ऐश्वर्यामाथि अधिकार जमाउन लागे । रोकटोक गर्न लागे । ऐश्वर्या जुन हिरोसँग काम गर्थिन् सलमान शंकालु नजरले हेर्थे । सलमानको खराब व्यवहारका कारण ऐश्वर्याले सलमानसँग सम्बन्ध तोडिन् ।

‘बुम’ फिल्मबाट निराशाजनक सुरुआत गरेपछि कैटरिना कैफ सलमानको सम्पर्कमा आइन् । सलमानसँग उनले ‘मैंने प्यार क्युं किया’ फिल्म गरिन् । त्यसपछि सफलताको सिँढी चढ्दै गइन् । उनी सलमानसँग निकै नजिक रहिन् । सलमान र कैटरिनाको विवाहको मिति पनि धेरैपटक तोकियो तर हुन सकेन । कैटरिनाले पनि सलमानसँग घर बसाउने सपना देखिन् तर सलमानले यसबारेमा निर्णय लिएनन् । जवाफ नपाएपछि उनी सलमानबाट टाढा भइन् ।

रोमानियाकी युलिया वन्तुर सलमानसँग नजिकिइन् तर उनीसँग विवाह गर्न सलमान तयार भएका छैनन्। यसका साथै क्लाडिया सिएस्ला, ब्रुना अब्दुल्ला, जरिन खान, डेजी शाह र एमी ज्याक्सनको नाम पनि सलमानसँग जोडिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

सलमान खान युवती प्रेमिका

विशेष