मुख्य समाचार

प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ

प्रधानमन्त्रीका सुरक्षागार्ड जुवाखालबाट पक्राउ

काठमाडौंः प्रधानमन्त्रीका सुरक्षागार्ड (एडिसी) जुवाको खालबाट पक्राउ परेका छन् । काठमाडौँको सामाखुसीबाट प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित ८ जना जुवाडे शुक्रबार पक्राउ परेका हुन् । बिदामा बसेका दिन शाही जुवाखालबाट समातिएका हुन् ।

महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित सोमबहाादुर मगरको घरमा चलाइएको जुवाखालबाट पक्राउ गरेको हो।  पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिए ।

म्यारिज खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । शाही जुवाका अम्मली नै भएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् । रामेछापको सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा पनि जुवाखालबाट पक्राउ परेका छन् ।  

शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ । यसअघि काठमाडौंको महाराजगञ्जबाट प्रहरीले २ करोड ६७ लाखसहित २५ जना धनाढ्य जुवाडेलाई पक्राउ गरेको थियो ।  

सुरक्षागार्ड जुवा खाल राजेन्द्रबहादुर शाही

विशेष