औषधि खान मान्दैनन् एचआइभी सङ्क्रमित, १ सय ५१ को मृत्यु
डोटी । जिल्लाको पूर्वीचौकी गाउँपालिकाकी धनसरा विक विसं २०६३ देखि एचआइभी सङ्क्रमितहरुले सेवन गर्ने एआरटी प्रयोगकर्ता हुन्, तर विगत केही महिनादेखि उनी औषधि सेवन गरिरहेकी छैनन् । उनी आफूलाई निको भइसकेकाले अब सधैँ औषधि खाइरहनु नपर्ने भन्दै एआरटी नखाने जिद्दी गर्छिन् । एआरटी सेवन गर्न छाडेपछि उनलाई अन्य रोगहरुले सङ्क्रमण गर्न थालेको छ ।
धनसराजस्तै अन्य सङ्क्रमितले पनि औषधि सेवन गर्न आनाकानी गर्ने गर्छन् । “स्वास्थ्य संस्थाबाट औषधि लिएर जान्छन् तर घरमा लगेर थन्क्याइदिन्छन्”, सङ्क्रमित कमला मल्लले भन्नुभयो, “एक सङ्क्रमित महिलाले २४ महिनासम्मको औषधि घरमै थन्क्याएको पाइयो ।” औषधि सेवन नगरेकै कारण ती महिलाको छिट्टै मृत्यु हुने कमलाको दाबी छ ।
विसं २०६२ मा पहिलोपटक आफू एचआइभी सङ्क्रमित भएको भन्दै खुलेकी कमला मल्लले भन्नुभयो, “कयौँ सङ्क्रमितको औषधि सेवन गर्दागर्दै मृत्यु भएको हुँदा पनि औषधि खाएर केही हुँदैन भन्ने नकारात्मक सन्देश गएको छ, त्यसैले उनीहरु औषधि सेवन गर्दैनन् ।”
यो समचार नेपाल समाचार दैनिकबाट लिइएको हो।
एचआइभी सङ्क्रमित