तपाईं कतिको कुरौटे हुनुहुन्छ ?
मनुष्यले ईश्वरबाट प्राप्त गरेका शक्तिमध्ये बोल्नु पनि एक हो । सभ्यताका लागि बोल्नु बाञ्छनीय छ, त्यसैले कुरा गर्ने कलालाई सर्वोत्तम शक्तिका रुपमा ग्रहण गर्न सकिन्छ । मानवीय सन्तुष्टि र वौद्धिक विकासका लागि गफगाफले निर्णायक भूमिका निर्वाह गरेको पाइन्छ । गफ गर्नु एउटा कला हो भने गफ हाँक्नु त्यसैको परिष्कृत रुप हो । गफसंगैको हँसिमजाकले मानिस उदासिनताबाट मुक्त हुन्छ ।
अंग्रेजीका महान कवि शेक्सपियरले भनेका छन– ‘गफबाजीमा जसले जे पनि भन्न सक्छ । र, गफमा कानेखुशी गर्ने कुराले प्रधानता पाउँछ ।’ अर्थात गोप्यताले गफमा महत्व पाउँछ भन्ने कुरालाई शेक्सपियरले लक्षित गरेका छन् । ‘भित्ताको पनि कान हुन्छ ।’ यो प्रचलित नेपाली उखान हो । ठट्टाकाप्रति अधिकतम टिप्पणी आउने गरेको प्रति लक्षित गर्दै टिमोथी भन्छन– ‘कुरौटे मानिस आफूले बोल्न नहुने कुरालाई पनि नलुकाई बोल्ने गर्छ ।’ गफमा पुनरावृत्तिलाई राम्रो मानिदैन ।
गफ या ठट्टाको समय नविनता र ताजा अनुभवबाट बित्नुपर्छ । जुन व्यक्तिले गफ गर्दा पहिले व्यक्त भइसकेका कुरालाई दोहोर्याउने काम गर्छ, उसले आफ्नै साथीभाई आफूबाट पर सार्दै गइरहेको हुन्छ । कसैको कमजोरीलाई लिएर बारम्बार गफ हाँक्ने साथीले साथी साथीबीचको सम्बन्धमा चिसो ल्याइदिन सक्छ ।
भनिन्छ– ‘ठट्टा वाद अपवादको पछि पछि हिँड्छ ।’ गफले दोस्रो व्यक्तिका नराम्रा कामलाई बढी उचाल्ने काम गर्छ । प्राय मानिसमा दुई प्रकारको स्वभाव देखिन्छ । केही मानिस बढी कुराकानी गर्छन भने केहीको शान्त स्वभाव हुन्छ । यी दुई प्रकृतिका मानिसको अन्तर बोलाइमा नभएर दृष्टिकोणमा हुन्छ । यस आधारमा धेरै बोल्नेलाई बुज्रुक र कम बोल्नेलाई सोझो ठान्न मिल्दैन । शान्त रहने व्यक्ति गफ गरेर पनि हृदयमा कटुता अनुभव नगरी बाँच्न सक्छ । कार्लाइल गफ गर्नेलाई राम्रो दृष्टिले हेर्दैनथे ।
गफाडीले आफूलाई नै बद्नाम गर्छ भन्ने उनको मत थियो । यथार्थ गफमा आधारित गफाडी मनोवैज्ञानिक व्यक्ति हुन्छ । आफ्ना गफप्रति कसले कति मोह देखाएका छन भन्ने कुरालाई विचार गरेर मात्र उसले मनोरञ्जन दिन्छ । कुरौटेहरुलाई अल्छीको भाँडोका रुपमा पनि व्याख्या गरिन्छ । मनोविज्ञहरुले आलस्यलाई मस्तिष्कका लागि रोग मानेका छन् ।
कतिपयले आलस्यलाई उपलब्धि पनि ठान्ने गरेका छन् । एकको सुस्तताले अर्कालाई प्रभाव नपारिरहन सक्दैन । एक अंग्रेज विचारक आलस्यलाई दुर्वल मस्तिष्कको आधार मान्छन् । आलस्यलाई सबल, दुर्वल दुबै पक्षबाट परिभाषित गरिएको छ । कुनै व्यक्ति न सधैं काम गरिरहन सक्छ, न सधै आलस्य भएर रहन नै । आलस्य र गफमा त केवल सच्चा कलाकारले मात्र दिन बिताउन सक्लान ।
कला र भावपूर्ण गफको महत्वमाथि प्रकाश पार्दै भनिएको छ– ‘जसमा नशाजस्तो सन्तोष हुन्छ तर नशाजस्तो भारीपन हुँदैन ।’ खुलेर गफ गर्ने मानिस कुरौटे भएपनि स्वार्थरहित हुन्छ । साथी संगातीमा नसाको आनन्द मिलेजस्तो गफमा पनि दुईभन्दा मानिसको सहभागिता हुन जरुरी छ । तर श्रोताहरुको भीड हुनु हुँदैन । गफी मानिसले आफूलाई सधैं फूर्तिलो अनुभव गर्छ । आफ्ना सहयोगी र साथीहरुको थकान मेटाउने परोपकारको भागीदार बन्न यस्ता व्यक्तिहरु सफल हुन्छन् ।
गफाडीहरु दिने काममा अगाडि लिने काममा पछाडि हुन्छन् । सामान्य कुराकानी गर्नेहरुका हकमा यो मान्यता लागू हुँदैन । कुराकानी त सामान्य सबै मानिसले गर्ने गर्छन । तर गफाडीहरुको अधिकांश समय श्रोताहरुलाई आफूमा केन्द्रित गराउनमा केन्द्रित हुन्छ । ‘अँ अनि त्यसपछि के भयो ?’ गफ हाँक्दा यस्ता शब्दले प्रमुखता पाएको खण्डमा गफाडीलाई संसार जितेजस्तो हुन्छ । जीवनमा ठट्टाको ज्यादै महत्व हुन्छ । मानव जीवनमा आइपर्ने विघ्न, बाधा र चिन्ता क्षणिक समयका लागि भए पनि यसले किनारा लगाइदिन्छ ।
जीवनको सास्तीलाई थोरै पैसा त के विना पैसा टाढा भगाइदिने ठट्टा प्राकृतिक औषधी पनि हो । हल्याण्डबासी ठट्टालाई द्वेष या मूर्खताको निजी स्वीकारोक्ति मान्छन् । वाइल्डको दृष्टिमा अर्काको बद्ख्वाईं गर्नुभन्दा नराम्रो बस्तु संसारमा एक चीज छ, त्यो हो– कसैको चियोचर्चा नहुनु । कुनै गफाडीले व्यक्तिलाई विषय बनाएर लोकापवाद विरुद्ध ठट्टा गर्यो भने कमसेकम उक्त व्यक्तिले उपेक्षाबाट मुक्ति पाउने उसको धारणा छ । यसकारण उनी व्यक्तिगत निन्दालाई पनि नराम्रो मान्दैनन् ।
स्वामी विवेकानन्दले एक ठाउँ भनेका छन्– ‘असन्तुष्ट मानिसका निम्ति सम्पूर्ण कर्तव्य निरस हुन्छ । त्यसैले तिनीहरुको जीवन असफल हुनु स्वाभाविक हो ।’ यदि कुनै गफाडी स्त्रीको विषयलाई लिएर अफवाह फैल्याउँछ भने या त्यस्तै विषयमा आशक्त भई रोमाञ्चक गफको स्वाङ रच्छ भने त्यसले गफ लाउने कलामा सफलता पाउँदैन ।
बनावटी गफले स्थिरताको सम्भावना रहँदैन । अफवाह सधैं पखेटा लगाएर उँडछ भन्ने सबैलाई थाहा छ । प्रतिशोधी मानिस गफाडी हुन सक्दैन । यस्ता व्यक्ति स्वार्थी र पूर्वाग्रही हुन्छन् । यस्ता मानिस सम्पूर्ण कामको श्रेय आफू लिन खोज्छन् । ठट्टा गर्नु एक विशेष प्रकारको कला हो । धेरै मानिसले चाहेर पनि यसखाले कला प्राप्त गर्न सक्दैनन् । यो जन्मजात गुुुणभित्र पर्छ । ठट्टा कल्पनाको घोडा हो । यद्यपि यो मौलिक विशेषता बोकेको अभूतपूर्व कला हो ।