मुख्य समाचार

भारतीय नम्बरका टेम्पु रोक्न उच्च अदालतले दियो आदेश

भारतीय नम्बरका टेम्पु रोक्न उच्च अदालतले दियो आदेश

गौरः एक दशकदेखि निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ । तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी डा. कमलेसकुमार सिन्हाले २०६६ चैत १३ गते उनकैै अध्यक्षतामा जिल्लामा सर्वपक्षीय बैठक राखेर भारतीय नम्बरका टेम्पोलाई भन्सार नतिरी गौर बजारमा सञ्चालन गर्न अनुमति दिएका थिए । त्यसयता सबै प्रजिअले सो निर्णयलाई म्याद थप गर्दै टेम्पो सञ्चालन गर्न अनुमति दिँदै आएका थिए ।

पछिल्लो पटक २०७५ पुस ३ गते जिल्ला प्रशासन कार्यालयको सूचनाको विषयमा अदालतले आदेश दिएको हो । जिल्ला प्रशासन कार्यालयले नै यस्तो निर्णय गरेपछि गौरका टांगा व्यवसायीले विरोध जनाउँदै आएका थिए । भारतको बिहार राज्यको बैरगनियादेखि रौतहट सदरमुकाम गौरसम्म सञ्चालन हुँदै आएका भारतीय नम्बरका तीनपांग्रे सवारीसाधन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटलाई आदेश दिएको हो ।

नियम कानूनलाई बेवास्ता गरी व्यवसायीले नेपालको गौर र भारतको बैरगनिया बजारसम्म भारतीय नम्बर प्लेटका दर्जनौं टेक्पो दैनिक चल्ने गरेका छन् । भन्सार नियमानुसार अन्य देशमा दर्ता भएका सवारीसाधन भाडा लिने प्रयोजनमा सञ्चालन गर्न नपाइने नियम छ । नेपालका व्यवसायीको तर्फबाट वीरगञ्ज महानगर–१६ लक्ष्मी मोटर्स प्रा.लिका सञ्चालक अरुण कुश्वाहाले जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा अन्तरिम आदेशका लागि निवेदन दिएका थिए ।

न्यायधीशद्धय सत्यमोहन जोशी थारु र विरबहादुर डाँगीको संयुक्त इजलाशले मंसिर ३ गते निवेदनको टुंगो नलागेसम्म भारतीय नम्बरका सवारीसाधन व्यवसायिक प्रयोजनका लागी सञ्चालनमा रोक लगाउन आदेश दिएको हो । विदेशी नम्बर प्लेटको टेम्पुलाई व्यवसायीक रुपमा चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०७५ पुस ३ गतेमा सुचना प्रकाशित गरिएको थियो ।

आर्थिक ऐन २०७६ को अनुसूची १ को दफा १२ को उपदफा (ख) बाहेकको अवस्थामा विदेशी नम्बर प्लेटका टेम्पुलाई नेपाली नम्बर प्लेटका सवारीसाधन सरह सञ्चालन गर्न, रात्री पार्किग गर्न गराउन नदिनु भनि विपक्षीको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो।

भारतको बैरगनियाबाट गौर चल्ने यात्रुबाहक टेम्पोका अधिकाश चालकसँग सवारी चालक अनुमती पत्र समेत नभएको पाइएको छ । नेपाल भारत सिमा बजारमा चल्ने अधिकाश टेम्पु नेपाली नागरिकले खरिद गरी चलाउने गरेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।

राैतहट उच्च अदालत टेम्पु

विशेष