मधेशका जनता दुई तिहाइको सरकारबाट निराश ( भिडियोसहित)
दीपेन्द्र चौहान नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सभापति हुन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल चौहानले समग्र तराईं र अझ त्यसमा पनि प्रदेश २ को अवस्थालाई नजिकबाट नियाँलेका छन् । उनै चौहानसंग नेपाल आजले विशेष साक्षात्कार गरेको छ ।
हामीसंगको भेटमा चौहानले बहुदल आएयता तराईंको अवस्था झन बिग्रेको अनुभव सुनाए । अधिकांश दल र नेताहरुले मधेशको नाममा राजनीति गरेर आफना लागि भौतिक सुख सुविधाको जोहो त गरे तर मधेशको अवस्था भने झनझन कहालीलाग्दो बन्यो । अझैपनि मधेशमा बाटोघाटो, शिक्षादिक्षा, स्वास्थ्य, खानेपानी, पौष्टिक आहार लगायतको समस्या छ ।
मधेशलाई पृष्टभूमि बनाउँदै नेपाली कांग्रेस, नेकपा (पूर्व एमाले र माओवादी ), हालको राजपा, समाजवादी पार्टीका नेताहरुले आफूले सम्पत्ति जोडेको तर मधेशी जनताले अभाव र पीडाबाहेक केही पाउन सकेनन् । पछिल्लो समय मधेश र मधेशीको नाम जपेर राजनीतिक गरेका राजपा र समाजवादी पार्टी त झन स्वार्थी देखिए । भ्रष्टाचार र लुटमा मात्र उनीहरुको ध्यान देखियो ।
राजपाका ६ जना अध्यक्ष मण्डलका नेतालाई मधेशको मायामोह केही पनि छैन । राजपा उनीहरुको एउटा क्लब हो, पार्टी होइन । राजपाका नेता मधेशमा जान पनि सक्दैनन् । जनताले लेखेट्छन् भन्ने चिन्ता उनीहरुमा छ । आफनो व्यापार व्यवसाय गर्न पार्टीको प्रयोग गरिरहेका छन् ।
उपेन्द्र यादवको समाजवादी पार्टीको मुकुण्डो पनि अब खुलिसक्यो । मधेशी जनता उपेन्द्र यादवको चरित्रसंग परिचित भैसकेका छन् । मधेशका नाममा गर्ने उनको ठेकेदारी अब समाप्त भैसक्यो । उनको पार्टीको मधेशमा कुनै स्थान छैन ।
जहाँसम्म प्रदेश २ सरकारको कुरा छ, त्यो भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । एकजना मुख्यमन्त्री लालबाबु राउत मात्र स्पष्ट दृष्टिकोण र सफा नियतका देखिन्छन् । बाँकी मन्त्रीहरु कमाउधन्दामा लागेका छन् । ३० हजारमा एउटा कम्प्युटर किन्यो भने ८० हजारको बिल बनाउँछन् ।
आफूसंग लालबाबुले पोखेको गुनासो स्मरण गर्दै चौहान भन्छन्, ‘ मेरो मुख्यमन्त्री राउतसंग राम्रो मित्रता छ । एकपटक उनले ठूलो दुःख र गुनासो मलाई सुनाएका थिए । जब क्याबिनेट बस्छ कुनैपनि मन्त्री विकासका योजना र कार्यान्वयनको प्रस्ताव ल्याउँदैनन् । आफनो भाग मात्र खोज्छन । कसरी कमिसन लिने हो त्यता मात्र ध्यान छ ।’
चौहानका अनुसार प्रदेश २ सरकारले ल्याएका प्रायः सबै कार्यक्रममा चरम भ्रष्टाचार भएको छ । बेटी पढाउ, बेटी बचाउ होस वा मुख्यमन्त्री स्वच्छता अभियान होस वा साइकल वितरण होस वा अरु कुनै...सबैमा भ्रष्टाचारै भ्रष्टाचार भएको छ ।
भ्रष्टाचारीलाई पक्राउ गर्ने विषयमा अख्तियार पनि मौन छ । अख्तियारका कर्मचारी, प्रदेश २ सरकारका मन्त्री र कर्मचारीले आपसमा मिलेर भ्रष्टाचार गर्छन्, यसमा कुनै शंका छैन । एकजना मुख्यमन्त्रीको असल नियत भएर केही नहुँदो रहेछ । मुख्यमन्त्री राउत निरीह र हैरान भएका छन् ।
मुख्यमन्त्री राउतले संघीयताको अभ्यासका लागि राम्रो प्रयास गरिरहेको भएपनि साथ सहयोग पाएका छैनन् । उनलाई आफना मन्त्रीसहित केन्द्र सरकारबाट पनि सहयोग छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ सरकारको सचिव र उच्चस्तरका कर्मचारी पटक–पटक फेरबदल गरेर राउतलाई बाधा गरिरहेका छन् ।
मुख्यमन्त्री राउतका लागि अर्को समस्या बनेका छन् महान्यायाधिवक्ता दिपेन्द्र झा । निकै विद्वान भनिने दिपेन्द्रको अयोग्यता छरष्ट भैसकेको छ । प्रहरी ऐन, बन ऐन, सुरक्षा ऐन लगायत सबै विवादमा पर्नुको कारण दिपेन्द्र नै हुन् । उनी आफू त असफल भए नै प्रदेश २ सरकारलाई पनि बदनाम र असफल पारे ।
अहिले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद आएको छ । सीमा विवाद पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छ । अझ प्रदेश २ मा त सीमा अतिक्रमण झन बढी छ । यसतर्फ कसैको ध्यान गएको छैन । यो विषय केन्द्र सरकारबाट हेरिनुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली आफै सजग र सतर्क हुनुपर्ने । तर, विडम्बना उनको केही पनि चासो छैन । वास्तवमा ओलीको राष्ट्रवाद झूठो र कृत्रिम हो भन्ने अहिले देखियो । मधेशी जनता पनि ओलीको नक्कली राष्ट्रवादसंग राम्ररी परिचित भए । मधेशसंग जति लभ परेको कुरा गरेपनि प्रचण्ड मधेशमा अलोकप्रिय छन् । उनको क्रेज घट्दो छ ।
तुलनात्मकरुपमा मधेशमा कांग्रेसको अवस्था सुधारोन्मुख देखिन्छ । कांग्रेसले थोेरै मेहनत गर्ने हो भने आगामी निर्वाचनमा मधेशी जनताको भोटमा कांग्रेसलाई सिंहदरवार प्रवेश हुनबाट कसैले रोक्न सक्ने छैन ।