एन्टिबायोटिकको जथाभावी प्रयोग स्वास्थ्यका लागि हानिकारक
काठमाडौँ । के तपाईंले चिकित्सकसँगको परामर्शबिनै एन्टिबायोटिक औषधि सेवन त गर्नुभएको छैन ? यदि त्यसो हो भने सावधान ! चिकित्सकको सल्लाहबिना जथाभावी एन्टिबायोटिक प्रयोग गर्दा स्वास्थ्यमा गम्भिर असर हुन सक्छ ।
पछिल्लो समय एन्टिबायोटिकको गलत प्रयोगको जोखिम बढ्दै गएको देखिएको छ । जथाभावी एन्टिबायोटिक प्रयोगका कारण कतिपय बिरामीमा औषधिले कामै नगर्ने स्थिति आउने गरेको चिकित्सक बताउँछन् ।
एन्टिबायोटिक ब्याक्टेरियाका कारण हुने संक्रमण या रोगलाई निको पार्न प्रयोग गरिने औषधिको समूह हो । चिकित्सकको प्रेस्क्रिप्सनबिना जथाभावी यसको प्रयोग गरेकै कारण सानासाना रोगसमेत लामो समयसम्म रहन सक्ने चिकित्सकको भनाइ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. दीपेन्द्ररमण सिंहले एन्टिबायोटिकको दुरुपयोग बढेको भन्दै रोकथामका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताए ।
त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फार्माक्लोजी डा. सतिशकुमार देवले एन्टिबायोटिक सेवन गर्न परिहाले यसको डोज पूरा गर्नुपर्ने बताउँछन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रशान्त वलीले लेखेका छन।
एन्टिबायोटिक