खेल

आइपीएलः धोनीको टिमले भित्र्याउन सक्छ रिलीज गरेका ३ खेलाडी

आइपीएलः धोनीको टिमले भित्र्याउन सक्छ रिलीज गरेका ३ खेलाडी

काठमाडौंः इन्डियन प्रिमियर लिग (आइपीएल) का सबै फ्रेन्चाइज टिमले ‘रिलिज र रिटेन’ गरेका खेलाडीको सूची जारी गरिसकेको छन् । आइपीएल २०२० को ‘अक्सन’ अघि आइपीएलका ८ टिमले ३५ विदेशीसहित १२७ खेलाडीलाई ‘रिटेन’ गरेको छ । आइपीएलको सफल टिम मध्ये महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नई सुपर किंग्स (सीएसके)ले यो संस्करणमा ५ खेलाडी ‘रिलिज’ गर्दा २० क्रिकेटरलाई ‘रिटेन’ गरेको छ । 

सीएसकेले गत सिजनमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो । यद्यपि चेन्नई फाइनलमा मुम्बई इन्डियन्ससँग पराजित हुन पुग्यो । चेन्नईले तीन पटक आइपीएलको उपाधि जितिसकेको छ । यो पटक पनि सीएसकेको उद्देश्य हुनेछ– चौथो पटक आइपीएलको उपाधि जित्ने । उपाधि जित्ने लक्ष्य राखेसँगै रिलिज गरेका पाँच खेलाडीको स्थानमा उत्कृष्ट खेलाडीलाई भित्र्याउँदै टिमलाई अझैं बलियो बनाउने चेन्नईको चाहना छ । भारतीय सञ्चारमाध्यमका अनुसार चेन्नईको नजर योपटक दोस्रो टिमले ‘रिलिज’ गरेका खेलाडीमा हुनेछ । यो पटक चेन्नईले कुन–कुन खेलाडीलाई टिममा भित्र्याउन सक्ला? यसबारे भारतीय सञ्चारमाध्यमले यस्तो अनुमान गरेका छन्–  

क्रिस मोरिसः मोरिस टी–२० मा उत्कृष्ट अलराउण्डरका रुपमा चिनिन्छन् । दक्षिण अफ्रिकाका यी खेलाडीमा बलिङ–ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्नसक्ने क्षमता छ । मोरिस ‘डेथ बलिङ’का लागि बढी परिचित छन् । यसअघि नै चेन्नईबाट आइपीएलबाट खेलिसकेका मोरिसलाई यो पटक पनि सीएसकेले टिममा भित्र्यान सक्ने बलियो सम्भावना छ । 

रबिन उथप्पाः रबिनलाई यो सिजनमा कोलकाता नाइट राइडर्सले ‘रिलिज’ गरेको छ । गत संस्करणमा खराब प्रदर्शनकै कारण केकेआरले उनलाई ‘रिलिज’ गरेको हो । अहिले पनि अनुबभी ब्याट्सम्यान उथप्पामा टी–२० उत्कृष्ट ब्याटिङ गर्ने क्षमता छ । उनी शीर्ष क्रमसँगै मध्यक्रममा ब्याटिङ गर्छन् । चेन्नईलाई पनि यस्तै खेलाडी अलि बढी खाँचो देखिन्छ । साथै चेन्नइको घरेलु मैदान स्पिनरका लागि उपयुक्त मानिन्छ । रबिन स्पिनरविरुद्ध राम्रो खेल्ने गर्छन्  । यसो भएमा चेन्नइलाई रबिन उपयुक्त विकल्प हुन सक्छन् । 

पियूष चावलाः यो वर्ष अनुभवी स्पिनर पियूष चावलालाई कोलकाता नाइट राइडर्स (केकेआर)ले ‘रिलिज’ गरेको छ । चेन्नईमको क्रिकेट मैदान स्पिनरलाई बढी मद्दत गर्छ । यसो भएमा चेन्नईले पियूषलाई टिममा भित्र्याउन सक्छ । उनी टिममा भित्रिए स्पिनरका लागि चेन्नई अझै बलियो देखिने छ । चेन्नईमा हरभजन सिंह जस्ता अनुभवी स्पिनर पनि छन् ।  
 

आइपीएल

विशेष