विचार Breaking News

अमेरिकामा लुटेराबाट कसरी बच्ने ?

सानुबाबु सिलवाल

अमेरिकामा लुटेराबाट कसरी बच्ने ?

अमेरिकामा तपाइँ ग्यास स्टेशनमा काम गर्दै हुनुहुन्छ भने लुटेराहरुको बन्दुकबाट कसरी बच्ने ? यो अहिलेका अहं प्रश्न हो । ग्यास स्टेशन अर्थात पेट्रोल बिक्री केन्द्र र संगै राखिएको सहज पसल स्टोर अमेरिकन जनताको सबैभन्दा प्यारो र बढी आवतजावत केन्द्र हो भन्दा फरक पर्दैन । नेशनल एशोसिएशन अफ कन्भिनियन्स स्टोर्स नाक्सका अनुसार सन २०१५ डिसेम्बर सम्मको तथ्यांकअनुसार अमेरिकामा १ लाख २१ हजार ४ सय ४६ ग्यास स्टेशन छन् । जसमा ८३ प्रतिशत स्टोर र ग्यास स्टेशन दुबै रहेछ । अमेरिकी श्रम तथ्याङ्क ब्यूरोका अनुसार झन्डै ९ लाख २६ हजार ७ सय ९२ कामदारहरु काम गर्दा रहेछन ग्यास स्टेशन र स्टोरमा गत सालको तथ्याङ्कलाई हेर्दा ।

ग्यास स्टेशनमा बर्षमा २ खरब ४९ अरब डलर सामान बिक्री हुँदो रहेछ भने नदेखिएको हिसाब हेर्दा झन्डै ४ खरब सामान बार्षिक बिक्री हुँदो रहेछ । यु एस सेन्सस ब्यूरोकाअनुसार ग्यास स्टेशनले सन २०१३ मा मात्रै प्वाइन्ट १३७ ट्रिलियन अर्थात १३७ बिलियन डलर राजस्व तिरेछ, जुन हरेक बर्ष बढ्दैछ । कारण हो, हरेक बर्ष अमेरिकी सरकारले बढाउने करको दरले राजस्व बढ्ने गर्दछ ।

अमेरिकी दैनिकी अर्थात जीवनशैलीको एक महत्वपूर्ण पर्याय ग्यास स्टेशन तथा स्टोर अमेरिकी साना तथा मझौला व्यवसायको मेरुदण्ड भएको छ । यस ग्यास स्टेशनमा काम गर्ने वर्क फोर्स नै ग्यास स्टेशनको अर्को मेरुदन्ड भन्दा भयो । जहाँ काम गर्न सहज छ ।  असाध्यै दिमाग प्रयोग गर्नुपर्ने पनि होइन ग्यास स्टेशनमा काम गर्न । तर ग्यास स्टेशनको व्यवसाय सन्चालन भने त्यति सहज छैन । ग्यास स्टेशन जहाँ धेरै नगदको कारोबार हुन्छ, जहाँ नगद संकलन बढी हुने गर्दछ । बिहान उठेदेखि नसुतेसम्म चुरोट, खैनी, पेय पदार्थ, खानेकुरा, पाउरोटी, अन्डा, दूध, पेट्रोल, मट्टीलेत, डिजेलदेखि अति आवश्यक सरसामान सहज र द्रुत गतिमा सेवा पाइन्छ । 

खुरुरुर्र गाडी वा हिँडेर आयो सामान काउन्टरमा ल्यायो वा ड्राइभ वे बाट किन्यो वा पेट्रोल पम्पमा क्रेडिट, डेबिट कार्ड घोट्यो सेवा लियो जहाँ घन्टौ घन्टा कुर्नु नपर्ने सर्बसुलभ र गतिशील सेवा नै अमेरिकाको स्टोर र पेट्रोल स्टेशनको राम्रा पक्ष भए । चिठ्ठा किन्ने, जिते पैसा लिने, मन लागेका चिजबिज, स्न्याक्स खाजाको छिटो छरितो सेवा पेट्रोल स्टेशनको अर्को राम्रो पक्ष भए । अमेरिका भन्ने मुलुकमा समयको महत्वलाई प्राथमिकतामा राखिन्छ । समयमा नचल्ने, समयलाइ बेवास्ता गर्ने र समयको महत्वलाइ खेलाँची गर्नेहरु अमेरिकामा पछि  टिक्नै नसक्ने हुन्छ ।

समयको रफ्तारमा कुदिरहेको अमेरिकन र अमेरिकालाइ छिटो छरितो र आवश्यक चिज र बस्तुको सेवाप्रदायलाइ पेट्रोल स्टेशन अमेरिकामा जीवनशैली सङ्गै झुन्डिएको छ भन्दा अत्युक्ति नहोला । कागज नभएका जो एशियन, ईन्डियन, नेपाली अरेबियन, चाइनिज, कोरियन, पाकिस्तानी वा प्रबासीहरुद्वारा सन्चालित पेट्रोल पम्पमा काम गरिरहेका हुन्छन् ।  तिनका रोजगारिको थलो पनि ग्यास पेट्रोल पम्प र स्टोरहरु बन्ने गरेको छ । तर अमेरिकीद्वारा सञ्चालितमा चाहिँ कागज नभएकाहरुका लागि त्यति सहज हुँदैन ।

दैनिक नगद संकलितस्थल ग्यास स्टेशन, अति आबश्यक बस्तुहरुको सहज केन्द्र ग्यास स्टेशन सुरक्षाका हिसाबले अति नै जोखिमपूर्ण छ अमेरिकामा । ग्राहकहरुबाट संकलित नगदमा लुटेराहरुको नजर पर्ने गर्दछ । अधिकांश समय डलर नगद र कतिपय समयमा सामान्य बियर, चुरोट वा अन्य सामानहरुको लागि पनि लुटेराहरुबाट पीडित हुने गरेका छन ग्यास स्टेशनमा काम गर्ने कामदार र साहुहरु । अमेरिकामा यस्ता शहर र ठाउँहरु छन, जहाँ ग्यास स्टेशन दिनदहाडै लुटिएका छन, काम गर्ने कामदारहरु मारिने गरेका छन र कहिलेकाहीँ साहुहरु पनि लुटेराहरुबाट मारिने र पीडित हुने गरेका छन् ।  
यसक्रममा थुप्रै नेपाली कामदार  मारिने गरेका छन । ग्यास स्टेशन जस्तै बाल्टिमोर, डेलवारे, एटलान्टा, शिकागो, न्यूयोर्क, न्यूजर्सी, कोलम्बिया साउथ क्यारोलिना, टेक्सास, ओक्लाहामा, फिलाडेलफिया जस्ता राज्य र शहरहरु ग्यास स्टेशनमा काम गर्न अत्यन्तै जोखिमयुक्त स्थानहरु हुन । जहाँ प्रायश बुलेट प्रुफ सिसाहरु भित्र बसेर काम गर्ने गरिन्छ । तै पनि लुटेराहरुबाट लुटिने, मारिने र तर्साउने काम चलिरहेकै छ । अधिकांश समय रात्रि समय र बिहानी पखलाई लुट्ने उत्तम समयको रुपमा लुटेराहरुले प्रयोग गर्ने गरेका छन् । मास्क लगाएर, मुख छोपेर, बन्दुक लुकाएर त कहिले नक्कली बन्दुक देखाएर पनि लुटपाट हुने गरेको छ । 

ग्यास स्टेशनका अधिकांश स्थानहरुमा २४ सै घन्टा सर्भेलेन्स क्यामेराहरु राखिएका भएपनि लुटेराहरुले लुटेकै हुन्छन । लुटेपछि त्यही क्यामेराका कारण केही समातिन्छन त केहीको पहिचान हुन सक्दैन । अमेरिकामा कुनै पनि घटना वा परिस्थितिको सुरक्षाका लागि प्रहरी बोलाउँदा ९११ डायल गर्नु पर्दछ । नजिकका सिटीका प्रहरीलाई कप वा पुलिस भनिन्छ भने काउण्टी वा सिटीभन्दा बाहिरको सुरक्षा हेर्नेलाइ सेरिफ भन्ने गरिन्छ अमेरिकामा । ९११ डयल गरेपछि सुरक्षाकर्मी कार्यालयलाई संक्षिप्त घट्ना विवरण दिएपछि ९ वा कहिलेकाहीँ ९११ डायल गरेपछि घटनास्थल प्रहरीले आफैं पत्ता लगाउँछ । ढिलामो ३० मिनेटभित्र प्रहरी घट्नास्थल आइपुग्छ र घट्ना अनुसन्धान शुरु हुन्छ । यदि घटना ठूलो छ भने चाहीँ यस्तो अवस्थामा संघीय प्रहरी एफबीआईको संलग्नता हुने गर्दछ ।

ग्यास स्टेशनको सुरक्षा जोखिमताबाट कसरी बच्ने ? कसरी लुटेराहरुको आक्रमणबाट आफूलाइ बचाउने र कसरी सुरक्षित हुने भन्नेमा केही जानकारी लिनु जरुरी छ, जसबाट लुटेराले मार्ने अवस्थाबाट सजिलै बच्न सकिन्छ । लुटेराहरु कस्तो अवस्थामा आउँछन, कति पटक स्टोरमा आउने गर्दछन ? उनीहरुले कस्तो व्यवहार देखाउँछन ? बन्दुक बोकेर आउनेलाई, चक्कु बोकेर लुट्न आउनेलाई वा केही पनि नलिकन एकैचोटी नगद भएको रजिष्टर बोकेर जाने वा माग्नेलाइ के गर्ने ? उनीहरुले बन्दुक देखाइसकेपछि के गर्ने र लुटेरा भागिसकेपछि के गर्ने ? नभाग्दै के गर्ने त ? टेक्सासको शिवाकोटी, एटलान्टाका पाठक, साउथक्यारोलिनाका रविनहरुको जीबन लुटेराले लिँदा यदि उनीहरुले पनि यस्तै खालका पूर्व साबधानी र जानकारी भएको भए सम्भवत उनीहरुको ज्यान बच्न सक्थ्यो । यस्ता सावधानीले भविष्यमा हुने घटनाबाट पनि पाठ पढ्न सकिन्छ । 

ग्यास स्टेशनका साहुहरुले आफ्ना व्यवसायमा लुटेराहरुले लुट्ने सम्भावनालाई ध्यानमा राखी पहिले नै बीमा गरिसकेका हुन्छन् । लुटेरा आए भने हातमाथि उठाएर रजिष्टर खुरुक्क खोलेर दिए हुन्छ । यस्तो अवस्थामा कहिले पनि लुटेराको अनुहार हेर्ने प्रयास नगर्नु । यदि अनुहार हेरेमा लुटेराहरुले मारिदिन सक्छन । उनीहरुले के ठान्छन भने ‘मलाई यसले चिन्ने वा जानकारी राख्ने प्रयास गर्यो र प्रहरीलाई हुलिया दिनसक्छ भन्ने ठान्छ लुटेराले । अरु पैसा वरिपरि राखेको छ र लुटेराहरुले मागेमा त्यो पनि दिए हुन्छ । लुटेरा चाँडै निस्कने प्रयास गर्नेछ, त्यसबेला प्रहरीलाई कल गर्ने प्रयास बिर्सेर पनि नगर्नु होला । जब लुटेरा जान्छ अनि मात्रै ९११ कल गर्ने, साहुलाई जानकारि दिने वा रजिस्ट्रर भन्दा तल राखिएको सुरक्षा बटन थिच्ने काम गर्नुपर्छ । ग्यास स्टेशन हल्का वा ग्राहक पातलिएको बेला वा नभएको बेला लुटेराहरुले समय सदुपयोग गर्ने हुदा यस्तो अवस्थामा को आउँदै छ, बाहिर निगरानी राख्नु होला यस्तो बेलामा सकेसम्म रजिस्टरमा नबस्नु होला । 

फोन, टेक्स, फेसबुक, च्याटमा यस्तो अवस्थामा नबस्नु होला । लुटेराले यही समयको सदुपयोग गर्न सक्नेछन । कहिलेकाहीँ ग्राहकलाई पेनि, निक्कल, सुका नपुगेको अवस्थामा झगडा नगर्नु होला । यसबाट स्थानीय ग्राहक रिसाउन सक्छन । जसको परिणाम बेलुकीपख वा स्टोर बन्द भएपछि स्टोर फुटाउन सक्छन । कहिले पनि ग्राहकको अगाडि हिसाब किताब गर्ने र नगद गन्ने काम नगर्नु होला । ताकि फटाहा ग्राहकले लुट्ने योजना नबनाओस् । तपाइँले देखाएर नगद नगनेसम्म उनीहरुले तपाइसंग कति रकम छ भन्ने अन्दाज लगाउन सक्दैनन ।  राती हिसाबकिताब गर्दा स्टोर बन्द गरेर मात्र गर्नु होला । नगद बोकेर कहिले पनि बाहिर ननिस्कनु , जसले गर्दा लुटेराहरुबाट तपाइ नलुटिनोस् । कहिले पनि गलत शब्द, नराम्रा शब्द र फोहोरी अंग्रेजी शब्दहरु प्रयोग नगर्नु होला ।

ग्राहकका अगाडि वा ग्राहकलाई उनीहरुले लुट्ने योजना र बदलाको भावना नलियोस् । अधिकांश चिनेका, नजिकका र स्थानीय ग्राहक नै हुन्छन लुट्नेमा । स्थानीय लुटेराहरुले सकेसम्म मार्दैनन तर तपाइँले कुस्ति खेल्न थाल्नु भयो, लखेट्न थाल्नु भयो र दादागिरी देखाउन थाल्नु भयो भने एउटै गोलीले तपाइँको पखेरु उडाइदिनसक्छ । सकेसम्म लुटेरालाई तपाइँसङ्ग पनि बन्दुक छ भन्ने नपरोस, जसले हतारमा उसको गोलीले पहिले नै तपाइँलाई शिकार नबनाओस् । रजिष्ट्रर पछाडि कुनै मेटल वा कुनै फलामको लौरो चाहीँ राखिराख्नु होला केही पर्यो भने कहिलेकाहीँ त्यही फलामको लौराले लुटेरा छिटो भाग्न सक्छ पनि ।

तपाइँसंग ग्रीनकार्ड छ वा तपाइँ अमेरिकाको नागरिक हो भने प्रहरी कार्यालयमा कन्सिल बन्दुकको लागि निवेदन दिनसक्नु हुन्छ र उनीहरुले नै तालिम दिन्छन कसरी बन्दुक चलाउने भनेर र कहिलेकाहीँ कुनै कुनै राज्यमा सीमित साना बन्दुक लुकाउने गरी लाइसेन्स बिना नै राख्न पाउँछन । तर बन्दुकको लाइसेन्स बिना बन्दुक देखाउने र खुलमखुला बोकेर हिँड्दा फेलोनीको सजाय दिन सक्छ । कथमकदाचित तपाइँ फेलोनीको सजाय पाउनु भएको छ भने तपाइँलाइ बन्दुक लाइसेन्स दिँदैन । लुटेराहरुको मास्क खोल्ने, लखेटने पछि लाग्ने र कुस्ति खेल्ने कदापि प्रयास नगर्नु होला । तपाइँको ज्यान भन्दा व्यवसाय नहुन सक्छ । 

तपाइँले गर्ने सानो गल्तिले लुटेराले तपाइको ज्यान लिने हुँदा साहु वा म्यानेजरको बढी माया र धाप पाउन लुटेराहरुसंग मुक्केबाजी नगर्नु होला । कहिले पनि लुटेराहरुले बन्दुक ताकेमा जुन ठाउँमा तपाइँ हुनुहुन्छ एक कदम पनि नचल्नुहोला । यदि तपाइँ चल्न थाल्नु भयो भने उसले आफूलाइ असुरक्षित ठान्छ र तपाइँलाई बन्दुक चलाउन सक्छ । लुटेरासंग मुखमुखै नलाग्नु होला । जसले आबेगमा आएर तपाइलाइ बन्दुक चलाउन सक्छ । अत्यन्त साना साना साबधानी र ख्याल गर्दा ज्यान बचाउन सकिन्छ लुटेराहरुबाट ।

तपाइँ कहाँ बस्नुहुन्छ, को को संग बस्नुहुन्छ सकेसम्म ग्राहकलाई नभन्नु होला, उनीहरुले योजना बनाउन सक्छन तपाइँलाई लुट्न । तपाइँको ज्यान सुरक्षा तपाइँ आफैंले गर्ने हो । आफैं सजक हुने हो । सकेसम्म जोखिमयुक्त स्थानमा भएका ग्यास स्टेशनहरुमा काम नगर्नु होला । गरि हाले पनि सजक हुने भन्दा अर्को उपाय नै छैन ।

काम गर्दा अपनाउनु पर्ने साबधानीहरुले तपाइँको जोखिममा कमी ल्याउँछ । सकेसम्म अंग्रेजी भाषा सिक्ने, धेरै बोल्ने प्रयास गर्नुहोला भाषाको ज्ञानले पनि तपाइँलाई कन्फिडेन्ट बनाउने, ग्राहकले नहेप्ने र सम्मान गर्ने हुँदा यस्ता लुटेराहरुको संकेत पनि तपाइले बुझ्न सक्नु हुनेछ । सहज र सजिलो काम त के नै होला र ? जहा जुनसुकै ठाउँहरुमा पनि एक खालका अप्ठेरा, जोखिम र असहजता भइहाल्छ तर ग्यास स्टेशनमा काम गर्दा जति सहज छ जति तपाइँ आफू साबधानीपूर्वक काम गर्नुभएको छ, त्यसले तपाइँको सम्भावित सुरक्षाका जोखिममा कमी ल्याउनेछ ।

अमेरिका लुटेरा मझौला व्यवसाय

विशेष