प्रधानमन्त्रीको आत्मबल नै सबैभन्दा ठूलो औषधि (भिडियोसहित)
मिर्गौला दोस्रो पटक प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनेकौं अडकलबाजी भइरहेका थिए । लगातार डायलसिस गरिरहेका प्रधानमन्त्री ओली राजनीतिक गतिविधिमा झनझन सक्रिय थिए ।
मन्त्रिपरिषद् पुनर्गठन, संचारमाध्यममा अन्तर्वार्ता, केन्द्रीय सचिवालय बैठक, नयाँ पुराना मन्त्रीहरुसंग बालुवाटारमा भोज, उपनिर्वाचनको धपेडी, सरकारको चौमासिक समीक्षा, मन्त्रिपरिषद् बैठकलगायत थुप्रै कार्यक्रममा प्रधानमन्त्रीको सक्रियता झन बढेको थियो । लाग्थ्यो, उनको स्वास्थ्यमा चमत्कार भैरहेको छ ।
तर, अचानक एपेण्डिसाइटिसको अप्रेशन गर्नुपर्यो । मनमोहन कार्डियो सेन्टर महाराजगंजमा उनको अप्रेशन हुँदै गर्दा धेरैले अनेकौं शंका उपशंका र डर पनि महसुस गरे । देश विदेशमा यो खबर सनसनीपूर्ण भएर फैलियो । प्रधानमन्त्रीको स्वास्थ्यप्रति धेरैले चिन्ता प्रकट गरे । के पो हुने हो ?
उपचारको तेस्रो दिनमै प्रधानमन्त्री आफै सामाजिक संजालमा सक्रिय भएर ट्वीट गर्ने, जवाफ लेख्ने गर्न थालेपछि उनको स्वास्थ्यमा गुणात्मक सुधार आएको अनुमान गर्न कठिन भएन । उपचारमा संलग्न चिकित्सकले भने जस्तै नै प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भैरहेको छ ।
मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेका अनुसार प्रधानमन्त्रीका लागि सबैभन्दा ठूलो औषधि उहाँको आत्मबल नै हो । मलाई केही पनि हुँदैन, सब ठिकठाक हुन्छ, रोग निको भइहाल्छ, मैले मुलुक र जनताका लागि केही गर्नुपर्छ भन्ने भित्रि सोच नै प्रधानमन्त्रीको ‘क्विक रिकभरी’ को प्रमुख कारण हो ।
मिर्गौला प्रत्यारोपण गरेर लगातार डायलासिस गरिरहेको विरामीको एपेण्डिसाइटिसको अप्रेशन गर्नुपर्ने अवस्थालाई सामान्य भनिदैन । अझ त्यसमा पनि एपेण्डिक्स फुटेको छ । यसले एकैछिनमा संक्रमण फैलाउँछ । प्रधानमन्त्रीको अप्रेशन र संक्रमण हुन नदिन चिकित्सकले जति मेहनत गरेका छन् , उत्तिकै प्रधानमन्त्रीको आत्मविश्वासले पनि काम गरेको छ ।
प्रधानमन्त्रीको विगतले पनि उनी कति आत्मविश्वासी छन् भन्ने देखाउँछ । देश विदेशमा जति उपचार गर्दा पनि उनको आत्मविश्वास र हौसलामा कमी आएको छैन । वास्तवमा औषधिले जति काम गर्छ त्यो भन्दा बढी विरामीको हौसला र आत्मविश्वासले रोग निको पार्छ ।
डा. काफ्ले भन्छन्, ‘अब प्रधानमन्त्रीलाई जोगाउनुपर्ने भनेको संक्रमणबाट हो । बाहिरका मानिसहरुलाई प्रधानमन्त्रीसंग भेट गर्न नदिनुको कारण संक्रमण नहोस भनेर हो । यो बेला फरक–फरक रोगको फरक–फरक औषधि चलाउनुपर्ने भएकाले त्यसले ल्याउन सक्ने समस्याबारे पनि सतर्क रहनुपर्छ । ’
एपेण्डिसाइटिसको अप्रेशन भैसक्यो, अब यो समस्या रहेन । प्रधानमन्त्रीको समस्या भनेको अब नियमित डायलासिस गरेर बस्ने वा पुनः मिर्गौैला प्रत्यारोपण गर्ने भन्ने हो । नियमित डायलासिस गर्दा हप्तामा चार घण्टाको दरले तीन पटक गर्नुपर्ने हुन्छ । कतिपयले मिगौैला प्रत्यारोपण गरिएको विरामीले लामो समय डायलासिस गर्न सक्दैन भन्ने भ्रम राखेका रहेछन् । त्यो होइन । प्रधानमन्त्रीको जतिपटक पनि डायलासिस गर्न मिल्छ । डायलासिस सामान्य प्रक्रिया हो, यसले शरीलाई अतिरिक्त बोझ र दबाब दिंदैन ।
मिर्गौला पुनः प्रत्यारोपण गर्ने हो भने पनि यसमा कुनै जटिलता छैन । चार–चार पटक मिर्गौला प्रत्यारोपण गरेका मानिसहरु सहज जीवन यापन गरिरहेका छन् । हाम्रो देशको कानुन अनुसार आफन्त अर्थात नातागोता भित्रबाट मात्र मिर्गौला दान गर्न मिल्ने प्रावधान छ । प्रधानमन्त्रीको आफन्तभित्र दाता छन कि छैनन् त्यो प्रमुख कुरा हो । यदि विदेशमा गएर उहाँ मिर्गौला प्रत्यारोपण गर्नुहुन्छ भने त्यसमा नेपालको कानुन आकर्षित हुनु हुँदैन ।
‘प्रधानमन्त्री ओली अहिले उपचारमा हुनुहुन्छ । केही दिनपछि उहाँ पहिले जस्तै सक्रिय जीवन व्यतीत गर्नुहुन्छ भन्नेमा शंका गर्नुपर्ने त्यस्तो केही छैन । ’ डा. काफ्ले बताउँछन् ।
नेपालमा दैनिक मिर्गौलाका रोगी बढिरहेको तथ्याङ्क छ । रोगीको संख्याको तुलनामा डाक्टर र डायलासिस गर्ने मेसिनको संख्या बढेको छैन । यसले समस्या भैरहेको छ । अझ सरकारले मिर्गौला पीडितका लागि डायलासिस र औषधिमा गरेको निःशुल्क व्यवस्था व्यावहारिक रुपमा लागु हुन सकेको छैन । अस्पतालले सरकारको शिफारिसमा निःशुल्क सेवा दिएपनि पछि सरकारबाट भुक्तानी पाउन निकै झन्झट बेहोर्नुपर्ने स्थिति छ ।
रामीका लागि पनि कागजपत्र र सिफारिस बनाउनमै दौडधूप गर्नुपर्ने हुन्छ । सरकारको निर्णय उचित भएपनि व्यावहारिक हुन सकेको छैन । यसलाई व्यावहारिक बनाउन अत्यन्त जरुरी छ ।
अर्को समस्या भनेको मिर्गौला प्रत्यारोपणपछि विरामीले खाने औषधिको छ । प्रत्यारोपणपछि विरामीले मासिक १० देखि २५ हजारको औषधि खानुपर्ने हुन्छ । अहिले प्रधानमन्त्रीले पनि यो औषधि खाइरहनु भएको छ । यति महंगो औषधि सर्वसाधारणले कसरी खाने ? सरकारले यो औषधि निःशुल्क गर्नुको विकल्प छैन ।
मिर्गौला रोग लाग्न नदिन दैनिक कम्तिमा तीन लिटर पानी खाने, दश हजार पाइला हिंडने, धुमपान तथा मध्यपान गर्दै नगर्ने, नियमितरुपमा वर्षमा एकपटक मिर्गौला परीक्षण गराउने गर्नुपर्छ । यति कुरामा ध्यान पुर्याउन सकियो भने मिर्गौला रोगबाट बच्न सकिन्छ ।