खेल

आइपीएलः यी हुन् ‘अक्सन’मा सहभागी नहुने ४ क्रिकेटर

आइपीएलः यी हुन् ‘अक्सन’मा सहभागी नहुने ४ क्रिकेटर

काठमाडौंः इन्डियन प्रियिमर लिग (आइपीएल) को ‘अक्सन’ मिति नजिकिँदै छ । ‘अक्सन’ मिति नजिकिएसँगै क्रिकेट समर्थकमा उत्सुकता पनि बढ्दै छ ।आइपीएलको आगामी सिजनका लागि कोलाकातामा १९ डिसेम्बरमा ‘अक्सन’ हुँदैछ । यो अक्सनमा देश तथा विदेशी खेलाडी सहभागी हुने छन् ।

यो पटक पनि रिलिज गरेका कयौं खेलाडी आइपीएलको अक्सनमा देखिने छन् । तर, आइपीएलका फ्रेन्चाइज टिमले रिलिज गरेका केही नाम चलेका खेलाडी भने अक्सनमा नदेखिने भएका छन् । गत वर्षको आइपीएल खेलका यी ४ क्रिकेटर देखिने छैनन् यो वर्षको अक्सनमा–

युवराज सिंहः युवराजले गएको संस्कणको आइपीएलमा मुम्बई इन्डियन्सबाट खेलेका थिए । तर, यो वर्ष नै उनले आइपीएलसहित अन्तर्राष्ट्रिय क्रिकेटमा सन्यास लिएका छन् । सन्याससँगै युवराजले यो वर्षको क्यानडा टी–२० लिग र टी–१० लिग खेलेका छन् ।

विदेशी लिग खेल्नका लागि बीसीसीआईबाट ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएसँगै युवराजले भारतीय क्रिकेटका कुनै पनि गतिबिधिमा भाग लिन पाउने छैनन् । यसकारण नै आइपीएल ‘अक्सन’मा उनको नाम नसुनिने भएको हो ।

शाकिव अल हसनः शाकिव बंगलादेश क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । विश्व क्रिकेटका स्टार अलराउन्डर शाकिव आइपीएलमा सनराइजर्स हैदरावादबाट खेल्ने गर्छन् । तर, आउँदो आइपीएल संस्करण भने उनले गुमाउने भएका छन् ।

‘म्याच फिक्सिङ’बारे बिचौलियाले प्रभावमा ल्याउन गरेको प्रयासबारे जानकारी नगराएको भन्दै उनलाई बंगलादेश क्रिकेट बोर्डले २ वर्षको प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्ध लागेसँगै शाकिवलाई हैदरावादले पनि ‘रिलिज’ गरेको छ । प्रतिबन्धकै कारण शाकिवलाई यो संस्करणको आइपीएलको ‘अक्सन’मा देख्न पाइने छैन ।

लियाम लिभिङस्टोनः लियामले आइपीएलसँगै विभिन्न देशका चर्चित क्रिकेट लिग खेलिसकेका छन् । इंग्लिश क्रिकेटर लियामले गत संस्करणको आइपीएलमा राजस्थान रोयल्सबाट खेलेका थिए । जसमा उनले ४ खेलमा ७१ रन मात्र बनाएका थिए । लियामको प्रदर्शनमा राजस्थानले चित्त बुझाउन सकेन । र, राजस्थानले यो पटक उनलाई रिलिज गरिदियो । रिलिजसँगै लियामले आइपीएल अक्सनबाट आफ्नो नाम फिर्ता लिएका छन् ।

रसिक सलामः रसिकले गत सिजन मुम्बई इन्डियन्सबाट आइपीएल खेलेका थिए । उनी जुम्मू–कश्मिरबाट आइपीएल खेल्ने दोस्रो क्रिकेटर हुन् । रसिकले गएको आइपीएलमा एक मात्र म्याच खेल्ने मौका पाएका थिए । उनलाई यो वर्ष मुम्बइले रिलिज गरेको छ ।

उमेर विवादका कारण उनीमाथि प्रतिबन्ध लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसकारण उनले आगामी संस्करणका लागि हुने आइपीएल ‘अक्सन’मासमेत भाग लिन पाउने छैनन् ।

आइपीएल युवराज सिंह अक्सन शाकिव अल हसन

विशेष