'साग सञ्चालन र व्यवस्थापनको तयारी पूरा'
काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले मंसिर १५ गतेबाट सुरु हुने १३ औं साग सञ्चालन र व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भएको स्पष्ट पारेका छन्।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले १३ औं साग सञ्चालन र तयारीको सबै काम सम्पन्न भैसकेको जनाएका हुन्। उनले भने, ‘मंसिर १५ गते साँझ ५ बजे दशरथ रंगशालामा राष्ट्रपतिज्यूले सागको समुद्घाटन गर्नुहुनेछ।’ १३ औं साग अन्तर्राष्ट्रिय महत्वको भएकोले नेपाल र नेपालीहरुको लागि पनि यो प्रतिष्ठा र गौरवको विषय भएको उनको भनाइ छ।
साग खेलका केही खेलहरु हिजोबाटै सुरु भैसकेको पनि उनले जनाए। उनका अनुसार महिला र पुरुष भलिवलका खेलहरु सुरु भइसकेका छन्। ‘आरम्भका खेलमा महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ। यो हाम्रो लागि थप शुभसंकेत हो’ उनले भने।