खेल

माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ को लगातार दोस्रो जित

माल्दिभ्सविरुद्ध नेपाल ‘ए’ को लगातार दोस्रो जित

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को टी–२० दोस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ टिम विजयी भएको छ । दोस्रो अभ्यास म्याचमा नेपालल १ सय ७ रनले विजयी भएको हो ।

नेपालले दिएको २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको  माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९ रन मात्र बनाउन सक्यो । उसका लागि मोहम्मद आजमले २६ सर्बाधिक रन बनाए । बलिङमा नेपालका बिक्रम शोब, मञ्जित श्रेष्ठ, तलिक राज भण्डारीले २–२ र शेर मल्लले एक विकेट लिए । 

यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय १६ रन बनायो । नेपालका लागि सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर आक्रामक ब्याटिङ गरे । उनले ४२ बलमा ४ चौका र ८ छक्कासहित ८४ रन बनाए ।  

यस्तै प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९, दिलिप नाथले २७, अमित श्रेष्ठले नटआउट २५ रन बनाए । बलिङमा माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए । नेपाल ‘ए’ र माल्दिभ्सबीचको अन्तिम तथा तेस्रो अभ्यास खेल शनिवार हुने छ ।

नेपाल भर्सेस माल्दिभ्स

विशेष