दैनिक २–३ डिग्रीको दरमा घट्दै काठमाडौंको तापक्रम

काठमाडौंः केही दिनयता काठमाडौं उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुईदेखि तीन डिग्री सेल्सियसले घटिरहेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।
‘डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ,’ मानन्धरले भनिन्, ‘आज काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम सात डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियस थियो ।’ अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ।
केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ। हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ।
शुक्रबार राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आइतबार पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम दुई दशमलव ८ डिग्री सेल्सियस रहेको छ।
तापक्रम काठमाडौं