मनोरञ्जन

५१ औं दिनसम्म आइपुग्दा 'छ माया छपक्कै' ले कति कमायो ?

५१ औं दिनसम्म आइपुग्दा 'छ माया छपक्कै' ले कति कमायो ?

काठमाडौँ। बक्सअफिसमा सफल चलचित्र दिन अब्बल मानिएका दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माता रोहित अधिकारीसँग सहकार्य गरेर निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ ले सफलताको मानक मानिने प्रदर्शनको ५१औं दिन पार  गरेको छ। चलचित्रले राजधानीका ६ वटा हलमा प्रदर्शनको ५१औं दिन मनाएको निर्माण टिमले जानकारी दिएको छ ।

विएसआर मुभिज, सिडिसी सिनेमाज्, गोपीकुष्ण मुभिज, अष्टनारायण, गुण र गंगामा फिल्मले प्रदर्शनको ५१औं दिन मनाएको हो । असोज २४ गतेबाट प्रदर्शनमा आएको यो फिल्मको सफलताको श्रेय निर्माण टिमले दर्शकलाई दिएको छ । दीपक-दीपाको समुहले निर्माण गरेका पछिल्ला सबै फिल्मले हलमा सफलतापूर्वक प्रदर्शनको ५१औं दिन मनाएका छन् ।

यस वर्षको सर्वाधिक कमाई गर्न सफल ‘छ माया छपक्कै’ ले ५१औं दिनसम्ममा १४ करोडको आँकडा पार गरेको जनाईएको छ । तर, यसको पुष्टि निर्माता र वितरक कम्पनीले भने गरेका छैनन । बलिउड फिल्म ‘वार’ का कारण प्रदर्शनको समयमा मल्टीप्लेक्समा न्यून सोज पाएको यस चलचित्रले ‘वर्ड अफ माउथ’ बलियो भएपछि  दर्शकको ठूलो भीड आफूतिर तान्न सफल भएको हो। 

निर्देशक दीपेन्द्र लामा निर्देशित ‘छ माया छपक्कै’ मा राजनीतिक पृृष्ठभूमिमा प्रेम बुनिएको छ । पानीको समस्या अनि त्यसमाथि हुने राजनीतिको विषयमा केन्द्रित रहेर निर्माण भएको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारको अभिनय रहेको छ ।

छ माया छपक्कै नेपाली चलचित्र

विशेष