स्वास्थ्य

मोटोपनबाट कसरी मुक्ति पाउने ?

मोटोपनबाट कसरी मुक्ति पाउने ?

मोटोपना एक मुख्य पौष्टिक विश्रृंखलता हो । यसले शरीरमा मुख्य मुख्य रोग उत्पन्न गराई,  मृत्युको सम्भावना बढाई, उनीहरुको खुशी र क्षमतालाई घटाई दिन्छ । मानिसको तौल उसको उचाईले भाग गरेर तौल ठीक छ वा छैन भनी छुट्याइन्छ । उमेर र उचाईअनुसार बढी तौल भएमा त्यसलाई बढी तौल भएको मानिस मानिन्छ । सामान्य तौलभन्दा १० प्रतिशत वा ८ किलोग्राम वा त्यो भन्दा बढी भएमा मोटप्पा भएको मानिन्छ । यस अतिरिक्त उमेर, तोल र उचाई अनुसारको तौललाई हाम्रो शरीरमा रहेको बोसोले प्रभावित गर्दछ ।

मोटोपना त्यसबेला भएको मानिन्छ, जब हाम्रो छालाको सतह खास गरेर १९ देखि २५ मि.मि. वा त्यो भन्दा बढी हुन्छ । बच्चामा रहेको मोटोपना जसमा शरीरमा रहेको बोसो र मांसपेशीको मात्रा बढी हुुनुलाई मानिन्छ । तौलअनुसार मोटोपनाको वर्गीकरण हुने गर्छ । १०–२० प्रतिशत सम्म तौल भएमा सामान्य, २०–४० मध्यम र ४०–६० प्रतिशत वा सो भन्दा माथि गम्भीर मोटापा मानिन्छ । 

अत्यधिक मात्रामा शरीरमा बोसो जम्मा हुनुको कारणमध्ये शक्ति लिने र शक्ति खर्च गर्ने सामथ्र्यमा फरक पर्नाले नै हो । यो खासगरी मध्यवर्ती उमेरमा बढ्दै जान्छ भने कुनै पनि उमेरमा हुनसक्छ । मोटापा–विकासशील देशहरुमा खास गरेर निम्न सामाजिक, आर्थिक स्तर भएका व्यक्तिहरुमा पाइन्छ । हाम्रो शरीरलाई दैनिक २७ देखि ३३ क्यालोरी आवश्यक पर्दछ । बढी व्यस्त मानिसलाई यसको मात्राको आवश्यकता बढी पर्दछ ।

आलस्य जीवन विताउनेको हकमा कम हुन्छ । शारीरिक दृष्टिले व्यस्त मानिसले क्यालोरीको शक्ति सन्तुलन गरिराख्दछ भने मोटो मानिसलाई उसको कार्यक्षमतामा कमी आई झन्झन् तौल बढ्न जान्छ । प्रौढ मानिसमा बोसोले भरिएको मसिनो जालीको मात्रा ११ देखि १७ किलोग्रामसम्म हुन्छ । दैनिक नियमित व्यायाम नगरेको खण्डमा यसको मात्रा १५ देखि २५ प्रतिशतसम्म बढ्न गई मोटोपना थपिँदै जान्छ । 
मोटोपना हुने कारण

क) वंशाणुगत प्रभाव

ख) महिलामा खासगरी जवानी, गर्भवती र महिनावारी रोकिने समयमा हुन्छ ।

ग) शारीरिक निष्कृयताले शरीरको शक्ति खर्चलाई कम गरी मोटोपन बढाउँछ । 

घ) सामान्यत थोरै मात्रामा क्यालोरी बढ्न गएमा यसले शरीरमा रहेको बोसो पदार्थलाई संचित गरी मोटोपन बढाउँछ । एउटा मानिसले दैनिक २० ग्राम टुक्रा स्लाईस गरेको रोटी खान्छ र २० मिनेट हिँड्नुको सट्टा सवारी साधन प्रयोग गर्दछ भने उसको दैनिक ४८ क्यालोरी बढी खपत गरी दश वर्षमा २० किलोग्राम बोसो पदार्थ शरीरमा जम्मा गर्दछ । 

ङ) कुनै खास पेशामा लागेकाहरु जस्तै भान्साघर र मदिरागृहमा कार्यरतहरुलाई मोटोपना बढी हुने सम्भावना प्रवल रहन्छ । कुनै कुनै समाजमा मोटो मानिसलाई आदर गरिन्छ भने मोटी आइमाइलाई सुन्दरी मानिन्छ । 

च) औषधी सेवनले पनि मोटोपना बढाउँछ । जस्तै गर्भ निरोधक चक्कीहरु र कुनै मानसिक रोगमा प्रयोग हुने औषधीहरु

छ) केन्द्रीय स्नायु प्रणालीमा रहेको एक भाग जसलाई हाईपोथालमस भनिन्छ मा अवरोध आएमा, उत्तेजना बढेमा, त्यसमा रहेको खाना खाने केन्द्र प्रक्रियामा परिवर्तन आउँछ र मोटोपना बढ्न जान्छ । 

ज) कण्ठरोग जसलाई हाईपोथाईराइडीज्म भनिन्छ, यसले पनि मोटोपन बृद्धिमा अहं भूमिका खेलेको हुन्छ । 
मोटोपनले ल्याउने दुष्परिणाम

क) हाम्रो शरीरमा रहेको क्लोन ग्रन्थीले इन्सुलिनको श्रावलाई नियन्त्रण गर्दछ । क्लोन ग्रन्थीले इन्सुलिन नामको हर्मोन बढाउँछ, त्यो हर्मोनले रगतमा भएको ग्लुकोजलाई शरीरको निम्ति उपयोगी बनाउँछ । शरीरले उक्त ग्लुकोजलाई इन्सुलिन हर्मोनको मद्दतद्वारा प्रयोगमा ल्याएर शक्ति प्रदान गर्दछ । कारणवश उक्त क्लोमबाट इन्सुलिनको मात्रा कम भएमा वा बनिसकेको इन्सुलिनले काम नगरेमा मधुमेह देखा पर्दछ । मोटो भएको मानिसलाई यो रोग देखापर्ने बढी सम्भावना रहन्छ । 

ख) रगतमा रहेको कोलेस्टोरेल दुई प्रकारको हुन्छ । बढी घनत्व र कम घनत्व भएको । मोटोपनले हाम्रो रगतमा रहेको कोलेस्टोरेलको मात्रा बढाउँछ । मोटोपन भएको व्यक्तिमा शारीरिक अल्छीपनाले बढी घनत्व भएको कोलेस्टेरोललाई घटाई कम घनत्व भएको कोलेस्टेरोललाई कढाई मुटुको धमनीमा कोलेस्टेरोल मात्रा अत्यधिक जम्मा गराई हर्ट एट्याकको सम्भावना रहन्छ । 

ग) खास गरेर प्रौढ महिलाहरुमा आफ्नो मोटोपनाबाट दिक्क भई मानसिक तनावका समस्या सृजित हुन्छन् । 

घ) यान्त्रिक अयोग्यता, जोर्नी सम्बन्धी समस्या जसलाई ओस्टियो आरथ्राइटीस भनिन्छ । यसले चेप्टो पैताला बनाउँछ । 

ङ) यस अतिरिक्त मोटा मानिसमा उच्च रक्तचाप, पित्तथैलीको पत्थरी, श्वासप्रश्वास प्रक्रियामा अवरोध, हर्ट बर्न, उदासीजस्ता समस्या देखापर्न सक्छ । 
मोटोपनबाट मुक्तिको बाटो

सामान्य मोटोपना मधुमेह, रक्तचाप र रगतमा कोलेस्टेरोलको मात्रा बढी भएमा तौल घटाउनु जरुरी हुन्छ । यदि हुनुपर्ने तौलभन्दा धेरै नै बढी भएमा २० प्रतिशत तौल घटाउनु जरुरी हुन्छ । हाम्रो शरीरलाई दैनिक ३० देखि ३५ क्यालोरी किलोग्राम आवश्यकता पर्दछ । सामान्यतया ७७ सय क्यालोरीको कमीले एक किलो बोसो घटाउँछ । त्यसकारण यस हिसावबाट पनि तौलमा कमी ल्याउन सकिन्छ । 

हप्तामा ०.५ देखि १.० किलो तौल घटाउन सरदर दैनिक ८००–१५०० क्यालोरी लिएमा उपयुक्त हुन्छ । दैनिक सरदर ५० ग्राम प्रोटिनले शरीरमा नाइट्रोजनको सन्तुलन गर्दछ भने सरदर दैनिक १००–१५० ग्राम कार्वोहाइड्रेड र ४०–४५ ग्राम बोसोको आवश्यकता पर्दछ । त्यसैले कार्वोहाइड्रेडको मात्रा सरदर ३० देखि ४० ग्राम दैनिक हुनुपर्दछ । यस अतिरिक्त प्रोटिन भएका खानाको प्रयोग बढाउने, ताजा फलफूल र हरियो सागपात प्रशस्त खाने गर्नुपर्छ । शारीरिक व्यायाम अन्तर्गत दौडिने प्रक्रियाले १०–१५ क्यालोरी प्रत्येक मिनेटमा खर्च हुन्छ ।

दैनिक आधा घण्टा हिँड्नाले तौल सन्तुलनमा आउँछ । दैनिक एक घण्टा हिँडाइले ३ सय क्यालोरी खर्च हुन्छ । यसले ३० ग्राम शरीरको बोसो घटाउन मद्दत गर्छ । जुन कमजस्तो लागे पनि दैनिक यो प्रक्रियालाई निरन्तरता दिने हो भने वर्षमा ९ केजी तौल घटाउन सकिन्छ । 

मोटोपना बोसो

विशेष