मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व 

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व 

बीरगंजः उदाउँदो सूर्यलाई अर्घ दिएर ४ दिवसीय छठ महापर्व आज बिहानबाट सम्पन्न भएको छ । झन्डै ३६ घण्टादेखि निराहार व्रतालुले उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी तथा सूर्य कथा सुनेर अन्नजल ग्रहण गर्छन् ।

गत बिहीबार नहाय–खायसँगै पर्व सुरु भएको हो । आज बिहान विरगंज तथा बारा पर्सा रौतहट लगायतका जिल्लाका छठघाटहरुमा उदाउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ । मूलविधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

व्रतालुहरूले आज बिहान नदि तथा पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।

अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अर्घ्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।

आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिकता विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ ।

  

छठ पर्व अर्घ

विशेष