मनोरञ्जन

‘घामड शेरे’ सुदूरपश्चिममा चल्न नदिने नेविसंघको चेतावनी !

‘घामड शेरे’ सुदूरपश्चिममा चल्न नदिने नेविसंघको चेतावनी !

काठमाडौंः चलचित्र ‘घामड शेरे’ को प्रचार गर्दै नेपाली कांगेसका सभापति शेरबहादुर देउवाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि कलाकार आसिफ शाहलाई तनाव भएकाे छ । उनले पोस्ट गरेको सामग्रीप्रति नेपाली कांग्रेसका भातृ संगठन नेविसंघ र तरुण दलले विरोधसमेत जनाएका छन् ।

नेविसंघ बैतडी जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चलचित्र ‘घामड शेरे’ सुदूरपश्चिमका कुनै हलमा पनि चल्न नदिने चेतावनी दिएपछि आसिफले माफी मागेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका थिए, ‘कलाकार जगतको कलंक आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, होइन भने सुदूर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुदूरपश्चिम प्रवेशमा त्यस्ता कंलकलाई पूर्ण निषेध गरिनेछ, जय नेपाल ।’

यो पोस्टपछि कलाकार आसिफ साहले माफी माग्नुपरेको हो । साथै उनले आफूले व्यक्तिगत रुपमा कसैलाई चोट पुर्‍याउन नखोजेको र कुनै पनि राजनीतिक पार्टीप्रति आस्था नराखेको बताएका छन् । आसिफले प्रचारमा सघाउ पुगोस् भन्ने हेतुले सामाजिक सञ्जालमा फिल्म ‘घामड शेरे’ को तस्वीरसँगै शेरबहादुर देउवा आक्रोशमा आएको एक तस्वीर शेयर गरेका थिए । उक्त तस्वीर केही दिनयता सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो ।

सानेपास्थित पार्टी कार्यालयमा नेविसंघमा भएको विवादका बेला कार्यकर्ताले देउवाकै विरोध गरेपछि देउवाले पनि कार्यकर्तालाई हकारेका थिए । सोही बेलाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । कार्तिक २२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘घामड शेरे’ मा आसिफ साह भने छैनन् । यसअघि आसिफ र निश्चल बस्नेत चलचित्र ‘दुई रुपैयाँ’ मा देखिएका थिए । ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा खड्काको शीर्ष भूमिका छ ।

शेरबहादुर देउवा नेविसंघ घामड शेरे नेपाली कांगेस आसिफ शाह

विशेष