चुटकिला

पढ्नै पर्ने आफन्तीका व्यंग्यमिश्रित कथा

पढ्नै पर्ने आफन्तीका व्यंग्यमिश्रित कथा

कपडाको रंग

आफन्तीले एउटा सानो रंगाई कारखाना खोल्यो । गाउँका मानिसहरु कपडा रंगाउन आउन थाले । मानिसहरु आफन्तीको रंगाई सीपको तारिफ गर्न थाले । यो सुनेर एकजना सेठलाई जलन हुन थाल्यो । आफन्तीलाई दुख दिने मनशायबाट एकदिन त्यो सेठ एउटा सानो टुक्रो  कपडा लिएर आफन्तीको कारखानामा पुगेर भन्न थाल्यो– ‘आफन्ती ! यो कपडा खूब राम्ररी रंगाइदेउ । म पनि तिम्रो सीप कस्तो रहेछ हेर्न चाहन्छु ।’
आफन्तीले सोध्यो– ‘सेठजी तपाईं कस्तो रंग मन पराउनुहुन्छ ?’ 

‘के रे रंग ? रंगका बारेमा त मलाई त्यस्तो खास मनपर्ने त केही छैन । तर मलाई सेतो, रातो, सुन्तला, हरियो, नीलो, आकाशे, पहेँलो, कालो, बैजनी रंग भने बिलकुलै मन पर्दैन । बुझ्यौ त ?’ सेठजीको यस्तो खाले जवाफ आएपछि आफन्तीले भन्यो– ‘बझें राम्रोसंग बुझें । म अवश्य पनि तपाईंलाई मनपर्ने रंगले रंगाइदिन्छु ।’ आफन्तीले सेठको आशय बुझ्यो र उनको हातबाट कपडा लियो । कपडा दिँदै सेठले सोधे– ‘ठीक छ । कपडा लिन कहिले आउँ त ?’ आफन्तीले कपडाको टुक्रो दराजमा राख्यो र त्यसमा ताल्चा मारिसकेपछि सेठतिर फर्कदै भन्यो– ‘सेठजी ! तपाईं आफ्नो कपडा लिन आइत, सोम, मंगल, बुध, विहि, शुक्र र शनिबार छोडेर अरु जुन दिन आउनु भए पनि हुन्छ ।’

खरबुजाको दाम

चिसो मौसममा आफन्तीले एउटा ब्याड बनायो र खरबुजाको बीउ रोप्यो । निश्चित समयमा खरबुजा राम्रोसंग फल्यो । खरबुजा पाकेपछि  राम्रो दाम पाउने उद्देश्यले केही राम्रा राम्रा खरबुजा छानेर लिई आफन्ती बादशाहको दरबारमा पुग्यो । बादशाहले खरबुजा राख्न लगायो । बादशाहले तीनपटक ‘सारै राम्रो’ भन्दै खरबुजाको प्रशंसा त गर्यो तर दाम एक पैसा पनि दिएन । 

आफन्ती दरबारबाट रित्तो हात फर्कियो । त्यस समय उसलाई असाध्य भोक लागिसकेको थियो । तर कुनै पनि चीजबीज किन्नका लागि उसंग एक पैसा पनि थिएन । केहीबेर सोचेपछि  उ एउटा रेष्टुराँमा पस्यो र टन्न भुटेको मासु खायो । मासु खाएपछि डकार्दै उठ्यो र तीनपटक ‘सारै राम्रो’ पैसा नतिरी बाहिर निस्कन खोज्यो । 

‘ए भलादममी, पैसा तिरेर जाउ । तिमीले पैसा दिएका छैनौं ।’ रेष्टुराँको मालिक चिच्यायो । ‘के भन्यौ ? मैले भर्खरै तिमीलाई दाम चुक्ता गरिदिएको हैन ?’ आफन्तीले भन्यो । रेष्टुराँको मालिकले आफन्तीलाई समातेर बादशाहका अगाडि हाजिर गरायो । बादशाहले सम्पूर्ण विवरण सुनेपछि रिसाएर भन्यो– ‘आफन्ती पैसै नतिरी तैंले त्यसरी सित्तैमा मासु खान कसरी सकिस ?’  ‘सरकार ! मैले कुनै गल्ती गरेको छैन ।’ आफन्तीले धक नमानी उत्तर दियो– ‘रेष्टुराँको मालिक अति लोभी रहेछ । मैले भुटेको मासु टन्न खाएको हुँ । हजुरले मसंग खरबुजा किनेर मलाई तीन पटक जुन ‘सारै राम्रो’ बक्सेको थियो, त्यही मैले उसलाई दिएँ । तर पनि यो अझै मसंग पैसा माग्दैछ । आफन्तीको उत्तरले बादशाह चुपचाप भए । 

बुद्धिको प्रचुरता

गाउँमा एकजना नयाँ काजी आयो । कसैले आफन्तीका सामु उसको तारिफ गर्दै भन्यो– ‘सुन्यौ तिमीले, नयाँ काजीलाई पूराका पूरा कुरान सरफी कण्ठस्थ छ । त्यसका मस्तिष्कमा त बुद्धि खचाखच भरिएको छ ।’

‘हो यो सम्भव छ ।’ आफन्तीले भन्यो– ‘नयाँ काजीलाई आफ्नो बुद्धि खियाउने झन्झट नै गर्नु पर्दैन । किनभने उनको टाउकोमा पहिला देखि नै बुद्धि खचाखच भरिएको छ ।’

नीति बचन

आफन्ती केही पैसा कमाउने मनशायले एकदिन डोरी हातमा लिएर भरियाहरुको पंक्तिमा गएर उभियो । यस्तैमा एक भुँडे सेठ त्यहाँ आइपुग्यो र कराएर भन्न थाल्यो– ‘मेरो यस बाकसमा चिनियाँ माटोका राम्रा भाँडाहरु छन् । कसैले यसलाई बोकेर मेरा घर पुर्याइदिन्छ भने म त्यसलाई तीन तीन नीति बचन सुनाउने छु ।’ कुनै भरियाले पनि उसको कुरा टेरपुच्छर लगाएन । तर आफन्तीलाई भने यस कुराले आकर्षित गर्यो । उसले सोच्यो– पैसा त जहाँ पनि पाइन्छ । तर नीति बचन सजिलै सुन्न कहाँ पाइन्छ । त्यसैले किन म यसको बाकस बोकेर यसको घर पुर्याएर नीति बचन सुन्ने अवसर नछोपौं । आफन्ती बाकस बोकेर सेठसंगै हिँड्यो ।

बाटोमा आफन्तीले सेठसंग नीति बचन सुनाउन आग्रह गरेपछि उसले भन्यो– ‘पहिलो नीति बचन हो यदि कसैले भोको पेट अघाएको पेटभन्दा राम्रो हुन्छ भन्यो भने त्यसमा कहिल्यै विश्वास नगर्नु ।’ आफन्तीले दोस्रो नीति बचनका लागि आग्रह गर्यो । सेठले भन्यो– ‘यदि कसैले घोडा चढेर जानुभन्दा पैदल हिँड्नुमा सुविधा हुन्छ भन्यो भने त्यसमा पनि विश्वास नगर्नु ।’ तेस्रो नीति बचनको सविस्तार लाउँदै सेठ भन्छ– ‘यदि कसैले तँ भन्दा वेबकूफ भरिया हुन सक्छन भन्यो भने त्यसमा पनि विश्वास नगर्नू ।’

सेठको तेस्रो नीति बचन सुन्नासाथ आफन्तीले बोकेको बाकस एकाएक छोडिदियो । बाकस भूइँमा खस्यो । बाकसतिर इशारा गर्दै आफन्तीले थप्यो– ‘यदि कसैले यस बाकसमा राखिएका चिनियाँ माटाका भाँडा फुटेका छैनन भन्यो भने त्यसमा विश्वास नगर्नू ।’
सर्वाधिक खुशीको दिन

बादशाहले आफन्तीसंग सोध्यो– ‘आफन्ती ! तैंले पूरै राज्यका भ्रमण गरिसकेको छस् । दुनियाँ के सोचिरहेको छ, त्यो तँलाई थाहा छ । अब भन त दुनियाँ कुन दिनलाई सबभन्दा बढी खुशीको दिन मान्दछ ?’ आफन्तीले झटपट जवाफ दियो– ‘सरकार दुनियाँका लागि सबभन्दा खुशीको दिन हजुर सकुशल स्वर्ग पुगिबक्सेको दिन नै हुनेछ ।’

आफन्ती खरबुजाको दाम

विशेष