मुख्य समाचार

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन

प्रसूति गृह भर्ना भइन् १२ वर्षीया गर्भवती, जसलाई आफ्नै अवस्थाबारे जानकारी छैन

काठमाडौंः १२ वर्षकी कलिली बालिका । बोल्न सक्दिनन् । निर्दोष छिन् । पेटमा ५ महिनाको शिशु चलिरहेको छ । बढेको पेट र बदलिँदो स्वास्थ्य अवस्थाबारे उनी भने अनभिज्ञ छिन् । थापाथलीस्थित प्रसूति गृहको चौथो तलाको २०७ नम्बर बेडमा उनी भर्ना भएको ४ दिन भयो । सोधेको उत्तर दिन नसक्ने उनी कसैलाई देखे फिस्स हाँस्छिन् मात्र ।

अस्पताल पेटीमा बुबा (ठूलो बुबा) कृष्णबहादुर भने चिन्तित मुद्रामा छन् । उनलाई एकछिन चैन छैन । घरि छोरीको छेउमा पुग्छन्, घरि बाहिर टहलिन निस्कन्छन् । अस्पतालले छोरीको स्थितिबारे खुलेर नभनिदिएका कारण उनलाई चिन्ता बढेको हो । छोरीको कस्तो उपचार हुने हो? उनलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारे जानकारी नपाएर आफू बेचैनीमा परेको उनले बताए ।

अछामको रामारोशन गाउँपालिका–४ बाट उपचार गर्न काठमाडौं आएका उनलाई यहाँ सबै नयाँनौलो लागेको छ । छोरीको स्वास्थ्य अवस्था कस्तो हुने हो भन्ने चिन्ता छँदै छ, सँगै आफूसँग भएको खर्च सकिन लागेकाले पनि पिरोलेको छ । वडाले दिएको २० हजार रुपैयाँ लिएर काठमाडौं आएका उनले एम्बुलेन्सलाई मात्र १० हजार रुपैयाँ बुझाए । उनीसँग एक जना प्रहरी जवान पनि आएका छन् । वडाको सिफारिसमा आएका उनको खानाखाजा खर्च कृष्णबहादुरले बेहोर्दै आएका छन् । त्यसैले बाँकी पैसा पनि सकिन लागेको छ ।

‘बोल्न पनि नसक्ने बच्चीमाथि यस्तो घिनलाग्दो व्यवहार गर्ने मान्छलाई जेल हाल्नपर्ने हो,’ उनले भने, ‘पहिलो पटक काठमाडौं आएको, कता जाने, के गर्ने, केही मेसो पाउँदिनँ । म पो जेल परेजस्तो भएको छु ।’ घरको खेतीपाती र बस्तुभाउ के भए । बोल्न नसक्ने भाइबुहारीले कसरी घर सम्हाले होलान् भन्ने पिरलो छ । त्यसैले बेलाबेला अस्पताल छाडेर घर भागौं जस्तो पनि लाग्छ । उनका अनुसार पीडित बालिकाका अभिभावक पनि सुस्त छन् । बोल्न जान्दैनन्, घरव्यवहार गर्न सक्दैनन् । घरव्यवहार, छोरीको उपचार, कानुनी लडाइँ आदि सबै कृष्णबहादुरको टाउकोमा आइपरेको छ ।

आफू कसरी गर्भवती भएँ भन्ने जानकारी बालिका दिन सक्दिनन् । उनीमाथि जबर्जस्ती करणी गर्ने व्यक्ति को हो भन्ने पनि बताउन सक्दिनन् । चिकित्सा भाषामा उनको समस्या बौद्धिक अपांगता हो । यस्ता व्यक्तिको उमेरसँगै हुनुपर्ने मानसिक विकास हुँदैन, उनीहरू बालबालिकाझैं व्यवहार गर्छन् । आफूलाई हानिनोक्सानी भएको पनि थाहा पाउँदैनन् । आमाबुबा सुस्त भएकाले सन्तान पनि उस्तै जन्मिएको हुन सक्ने कृष्णबहादुरको बुझाइ छ ।

बालिका विद्यालय गएर पढ्न नसक्ने भएकाले उनलाई घरमै राख्ने गरिएको उनले बताए । हेरचाह गर्ने व्यक्ति नभएकाले टाढाको मेलापात जाँदा थुनेरसमेत जानुपर्ने अवस्था रहेको उनको भनाइ छ । ‘हामी खेतीकिसानी गरेर खानुपर्ने मान्छे, दिनभरि घरमा हुन्थेनौं । एक्लो देखेर कसले छोरीको यस्तो अवस्था बनाइदियो,’ उनले भने ।

एक महिनाअघि बालिकालाई कुकुरले टोकको थियो । उपचार गर्न लैजाँदा स्वास्थ्यकर्मीले गर्भवती भएको सुनाउँदा बोहरा परिवारको चैन हरायो । त्यही दिनदेखि कृष्णबहादुर वडा, कार्यालय, प्रहरी, मिडिया र अस्पतालको चक्करमा फसेका छन् । घरव्यवहार छाडेर छोरीको उपचार र न्यायका लागि भौंतारिइरहेका छन् । त्यसैको चिन्ता खप्न नसकेर कृष्णबहादुर टाउको समात्छन् । भन्छन्, ‘मेरो त दिमागै उल्टा भइसक्यो । बरु बौलाउन पाए पनि हुन्थ्यो ।’

अस्पतालले बालिकालाई ‘अब्जर्भेसन’मा राखिएको बताएको छ । बालिकाको उपचार सुरु नभएको र भिडियो एक्सरेलगायत रिपोर्ट आइसकेपछि गर्भपतन गर्ने–नगर्ने भन्ने निर्णय लिइने अस्पतालले जनाएको छ । बालिकाको उपचार निःशुल्क गरिने अस्पतालका निर्देशक डा. जागेश्वर गौतमले बताए । औषधि र बेड खर्च पनि अस्पतालले लिएको छैन । ‘लैंगिक हिंसासम्बन्धी घटना भएकाले बालिकाको उपचार खर्च निःशुल्क गर्ने व्यवस्था गरिएको छ । हामीले हिंसासम्बन्धी बिरामी, गर्भवती र सुत्केरीको उपचारमा शुल्क लिने गरेका छैनौं ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

प्रसूति गर्भवती

विशेष