मुख्य समाचार

चिसो कोठामा डा. केसीको अनशन, कस्ता छन् उनका माग?

चिसो कोठामा डा. केसीको अनशन, कस्ता छन् उनका माग?

डडेलधुराः स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा. गोविन्द केसी अनशन बसेको ठाउँमा दिउँसो १२ बजे पनि ११ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुँदैन । अनशनस्थल नजिकैको गल्लीमा दिनभर घामै लाग्दैन । डडेलधुरा अस्पतालका चिकित्सकहरूले चिसोकै कारण डा. केसीको स्वास्थ्य चाँडै बिग्रन सक्ने बताएका छन् ।

डा. केसीले निर्मल मेडिकल हलको मथिल्लो तलामा सोमबारबाट आमरण अनशन बसेका छन् । उनको यो १७ औं अनशन हो । सरकारले पटकपटक गरेका सहमति कार्यान्वयन नगरेको भन्दै उनी अनशन बसेका हुन् । ‘प्रधानमन्त्री स्वयं माफियाको चंगुलमा फसिसकेका कारण जनस्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा माफिया राज सुरु भएको छ,’ डा. केसीले मंगलबार बिहान सञ्चारकर्मीसँग भने, ‘सरकारले आफैं गरेका सम्झौता बेवास्ता गर्दै जनताको स्वास्थ्यसँग खेलवाड गर्न थालेपछि म १७औं पटक अनशन बस्न बाध्य भएको हुँ ।’

सरकारले चिकित्सा शिक्षा ऐनमा माफियामुखी प्रावधान राखेर अपराध गरेको टिप्पणी डा. केसीले गरे । ‘विश्वविद्यालय तथा प्रतिष्ठानमा मापदण्डका आधारमा नभई दलीय र नेतागत भागबन्डाका आधारमा नियुक्ति सुरु गरिएको छ,’ उनले भने ।

दलीय भागबन्डाका आधारमा हुने नियुक्तिका कारण प्रमुख शैक्षिक प्रतिष्ठान ध्वस्त हुन थालेको उनले बताए । उनले हरेक सरकारले शिक्षा र स्वास्थ्यको अधिकारसँग खेलबाड गर्दै आएको आरोप लगाए । डा. केसीले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूको अवैध लेनदेनका कारण खुलेआम अर्बौं ठगी गर्नेहरू कानुनभन्दा माथि भएका छन् ।’

सरकारका क्रियाकलापले विधिको शासनको खिल्ली उडाएको उनको भनाइ थियो । ‘चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र कालोबजारी तथा अपराध हुने क्षेत्रका रूपमा विकसित हुन थालेका छन्,’ उनले भने, ‘राज्य माफिया र अपराधीको पालकमा परिणत भएपछि मैले निर्णायक अनशन सुरु गर्नुपरेको हो ।’

उनले अहिले ७ वटा प्रमुख माग राखेर अनशन सुरु गरेको र सरकारको दृष्टिकोण केही दिन हेरेर माग थपघट गर्ने बताए । यसअघि जुम्लामा अनशन बस्दा राज्यले दमन गरेको उल्लेख गर्दै उनले डडेलधुरामा त्यो स्थिति आउन नदिनका लागि सहयोग गर्न जिल्लावासीलाई आग्रह गरे । ‘साम्यवादी भनिने दलहरूको सरकारले एकपछि अर्को जनविरोधी गतिविधि गर्दै माफियातन्त्र सुरु गरेपछिको यो ठूलो सत्याग्रह सुरु गरिएको हो,’ उनले भने ।

डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति चर्को आक्रोश पोखे । ‘चिकित्सा शिक्षा ऐन प्रधानमन्त्री ओलीको निर्देशनमा माफियालाई फाइदा पुग्ने गरी ल्याइयो,’ उनले भने, ‘प्रधानमन्त्री स्वस्थ रहून् तर उनीजस्तै सहज तरिकाले स्वास्थ्य सेवा पाउने अधिकार जनतालाई पनि संविधानले दिएको नबिर्सून् ।’

राज्य वा कसै माफियाको खर्चमा विदेशमा गएर उपचार गराउन सक्नेले मात्र स्वास्थ्य सेवा पाउने तर विपन्नले सिटामोलसमेत नपाउने स्थिति आफूलाई स्वीकार्य नभएको डा. केसीले बताए । ‘देशको प्रधानमन्त्री नै जनताको स्वास्थ्य र शिक्षाका सवालमा गैरजिम्मेवार भएपछि राज्य संयन्त्रले कसरी काम गर्छन्?’ डा. केसीले भने, राजनीतिक दलका हरेक शीर्ष नेताको अवैध लगानी र कमाउने भाँडोका रूपमा यस क्षेत्रलाई प्रयोग गरिन थालिएको छ ।’ याे समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो । (फाइल फोटो) 

डा. गोविन्द केसी अनशन डडेलधुरा

विशेष