‘लन्च ब्रेक’सम्म यस्तो छ नेपालको अवस्था, जितको सम्भावना कति?
काठमाडौंः प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले दिएको ३९३ रनको लक्ष्य पछ्याउने क्रममा आज पनि नेपालले सस्तैमा पहिलो विकेट गुमाएको छ । दोस्रो इनिङ्समा पनि नेपालले पहिलो विकेटकारुपमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो ।
अघिल्लो इनिङ्समा शून्यमै मैदान बाहिरिएका उनले दोस्रो इनिङ्समा मात्र ६ रन बनाए । नेपालले विजय हात पार्न अन्तिम दिनको भोजन अघि र बाँकी दुई सत्रको खेलमा यो लक्ष्य पूरा गर्नु पर्नेछ । यो समाचार तयार पार्दासम्म ‘लन्च ब्रेक’ राखिएको छ ।
यो अवस्थामासम्म नेपालले ९ ओभरमा महत्वपूर्ण १ विकेट गुमाएर ५१ रन बनाएको छ । क्रिजमा राजु रिजाल (३१) र शरद भेषवाकर (१४) रहेका छन् । अब नेपालले जितका लागि ७४ ओभरमा ३४२ रन बनाउनु पर्ने हुन्छ ।
एमसीसीले त्रिवि क्रिकेट मैदानमा ६ विकेट गुमाई १ सय ८१ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गर्दै नेपाललाई विशाल लक्ष्य दिएको हो ।
नेपालबाट शुक्रबार बिहानको खेलमा करण केसीले ३ र सोमपाल कामीले १ विकेट लिए । अघिल्लो दिन पवन सर्राफ र ललितनारायण राजवंशीले १–१ विकेट लिएका थिए ।
एमसीसीले पहिलो इनिङ्समा ३६४ र दोस्रो इनिङ्समा १८१ रन बनायो । नेपाल पहिलो इनिङ १५३ रनमै समेटिएको थियो । नेपालले पहिलो इनिङ्समा निकै खराब सुरुवात गरेको थियो ।
प्रथम श्रेणी क्रिकेट नेपाल भर्सेस एमसीसी ज्ञानेन्द्र मल्ल