मुख्य समाचार

ढुक्क हुनुहोस्, सिमाका विषयमा सरकार अल्मलिदैन्ः मन्त्री बाँस्कोटा

ढुक्क हुनुहोस्, सिमाका विषयमा सरकार अल्मलिदैन्ः मन्त्री बाँस्कोटा

काठमाडौंः सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् ।

देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ लसर्घामा अवस्थित प्रसिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक टिकटको आज यहाँ अनावरण गर्दै प्रवक्ता बाँस्कोटाले सीमाका विषयमा सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण आइसकेको बताए । 

‘सरकार चुपचाप बसेको कुरा उठाउनै नसकेर होइन हामीलाई राम्ररी थाहा छ सरकारकोतर्फबाट स्पष्ट दृष्टिकोण अगाडि सारिसकेका छौँ’ प्रवक्ता बाँस्कोटाले भने, ‘विवादलाई कूटनीतिक र राजनीतिक माध्यमबाट छलफलमार्फत टुङ्गोमा पुर्याउनेछौं ।’

“सरकारसँग राष्ट्रप्रेमको अडान छ त्यसैले पनि तपाईहरु ढुक्क हुनुहोस् सरकार अल्मलिँदैन”, प्रवक्ता बाँस्कोटाको भनाइ थियो । “सरकारले आशा जगाउँदै गएको छ हामीलाई थाहा छ निराशाको खेती गरेका छैनौँ”, प्रवक्ता बाँस्कोटाले भने, “सरकारलाई पाँच वर्षसम्म पर्खिनुको विकल्प छैन विश्वास गर्नुहोस् मुलुकले काँचुली फेरेर छाड्ने छ ।”

आलमदेवी मन्दिर शक्तिको केन्द्रका रुपमा स्थापित हुँदै गएको बताउँदै इतिहास, सम्पदा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयासलाई निरन्तरता दिन आवश्यक रहेको प्रवक्ता बाँस्कोटाले बताए । 

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको छविलाई उच्च बनाउन सरकार प्रतिबद्ध रहेकाले ढुक्क हुन आग्रह गरिन्। राष्ट्रमाथि आँच आउने कुरामा सरकार संवेदनशील रहेकाले त्यसमा पछाडि नहट्ने उनले बताइन् ।  

गोकुलप्रसाद बाँस्कोटा लिपुलेक कालापानी सीमा

विशेष