खेल

एकै सागमा ४ स्वर्ण, ९ पदकः नेपाली पौडीबाज गौरिकाको गौरवपूर्ण प्रदर्शन

एकै सागमा ४ स्वर्ण, ९ पदकः नेपाली पौडीबाज गौरिकाको गौरवपूर्ण प्रदर्शन

काठमाडौंः पौडीबाज गौरिका सिंहले सागको एकै संस्करणमा सर्वाधिक तीन स्वर्ण जितेर कीर्तिमान बनाएको २४ घन्टा नबित्दै अर्को रेकर्ड बनाएकी छिन् । सोमबार थप एक स्वर्ण जित्दै उनले सागमा चार स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी दीपक विष्टको कीर्तिमानमा बराबरी गरेकी हुन् । तर, दीपक विष्टले गौरिकाले जस्तो एकै संस्करणमा ४ स्वर्ण भने जितेका होइनन् ।

गौरिकाले सोमबार ५८ दशमलव १३ सेकेन्डमा १ सय मिटर फ्रिस्टायल पूरा गर्दै आफ्नो चौथो स्वर्ण जितेकी हुन् । निकटतम प्रतिद्वन्द्वी भारतकी सिभांगी शर्मालाई ०।०२ सेकेन्डले पछि पारेकी हुन् । 

जारी सागमा गौरिकाले स्वर्णसँगै दुई रजत र तीन कास्य गरी नौ पदक जितेकी छिन् । १२औँ सागमा एक रजत र तीन कास्य जितेकी थिइन् । यो सँगै सागमा उनको कुल पदक १३ पुगेको छ । ‘मैले अब धेरैभन्दा धेरै रेकर्ड बनाउने सोचेको छु । मेरो रेकर्ड तोडिएको हेर्ने मन पनि छ,’ गौरिकाले भनिन् । 

गौरिकाले लन्डनको क्याम्देन स्विस कटेजमा एडम टेयलरसँग स्विमिङ प्रशिक्षण लिने गरेकी छिन् । १३ वर्ष दुई सय ३५ दिनको उमेरमै २०१६ को रियो ओलम्पिक खेलेकी उनले ओलम्पिकमा सहभागी हुने कान्छी खेलाडीका रूपमा विश्वव्यापी चर्चा कमाएकी थिइन् । गौरिका २०२० मा हुने टोकियो ओलम्पिकका लागि पनि छनोट भइसकेकी छिन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

पौडी १३ औं साग गौरिका सिंह

विशेष