मुख्य समाचार

दशरथ रंगशालामै प्रहरीका डिएसपीद्वारा कुटिए पत्रकार

दशरथ रंगशालामै प्रहरीका डिएसपीद्वारा कुटिए पत्रकार

काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोहको दिन आज रंगशाला हाताभित्रै प्रहरीले पत्रकारमाथि कुटपिट गरेको छ । दशरथ रंगशालाको सुरक्षामा खटिएका तीनजना डिएसपीले रंगशालामै पत्रकारलाई कुटपिट गरेका हुन् । डिएसपीहरु रुगम कुँवर, सन्तोष सिंह राठौर र राजेन्द्र धमलाले पत्रकारसहित सर्वसाधारणमाथि लाठी र लात्ती बर्साएका हुन् । उनीहरुले पक्रिसकेपछि पनि सर्वसाधारणमाथि जथाभावी कुटपिट गरेका थिए ।

सर्वसाधारणमाथि जाइ लागेका बेला फोटो खिचेको आरोपमा डिएसपी राठौरले नागरिक दैनिकका खेल पत्रकार सुमन चापागाईंमाथि लात्ती नै बर्साएका छन् । उनीलाई एकजना प्रहरीले पक्रिएपछि राठौरले पछाडिबाट लात्ती बर्साएका हुन् ।

नेपाल र भुटानबीच हुने फुटबलको फाइनल भीडन्तको टिकटको मूल्य दोब्बर बढाएपछि सर्वसाधरण विरोधमा उत्रिएका थिए । फुटबल हेर्न रंगशाला आसपास जम्मा भएका सर्वसाधारणमाथि प्रहरीले कुटपिट गरेको थियो ।

विवाद चर्किँदै गएपछि प्रहरीले दर्शकलाई जथाभावी कुट्न थालेको थियो। दर्शकलाई प्रहरीले कुटेको फोटो खिचेको भन्दै पत्रकार चापागाईंमाथि राठौरसहितले कुटपिट गरेका हुन् । पत्रकार चापागाईंलाई प्रहरीले आयोजकबाट उपलब्ध एक्रिडेसन कार्ड लगाएको अवस्थामा समातेर कुटेको हो । प्रहरीको कुटपिटबाट चापागाईंको कानबाट रगत आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।  

१३ औं साग दशरथ रंगशाला सन्तोष सिंह राठौर राजेन्द्र धमला रुगम कुँवर सुमन चापागाईं

विशेष