राजनीतिक कोर्स बदलिने विषय भारतसँगको सम्बन्धमा भर पर्छ (भिडियोसहित)
यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैजना आफूलाई सक्रिय देखाउने प्रयासमा छन् । सरकार र पार्टी दुवै शिथिल भएको गुनासो चौतर्र्फी आएपछि अस्वस्थ भएपनि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक राख्ने प्रयास गरे । यस्तै, सम्पूर्ण निर्णय आफ्नो हातमा नभएपनि कार्यकारीको पगरी गुथेका दाहालले सचिवालय बैठकमार्फत स्थायी कमिटी बैठक बोलाएर आफूलाई सक्रिय देखाउन खोजेका छन् ।
मुलुक हाँक्ने प्रधानमन्त्री नै गम्भीर विरामी परेपछि थुप्रै काम अड्किएका छन् । राष्ट्रियता, जनजीविका र प्रशासन संयन्त्रसँग जोडिएका काम लथालिङ्ग छन् । यो बेला फटाफट काम गर्नुपर्ने जनअपेक्षा छ । तर, सरकारको बागडोर सम्हालेको पार्टी नेकपा र यसका नेताहरु जिम्मेवारविहीन छन् । नेकपा केन्द्रीय सदस्य मणि थापा भन्छन्, ‘दुई जना अध्यक्षको कार्यविभाजन र अधिकार बाँडफाँडले मात्र पार्टीले त्राण पाउँदैन ।
स्थायी कमिटी, पोलिटव्यूरो, केन्द्रीय कमिटीको पूर्णता र यसका सबै सदस्यहरुको कार्यविभाजन स्पष्ट हुनुपर्छ । यसमा ढिलाइ भएको छ । अब चाँडै होला भन्ने विश्वास राखेका छौं ।’ नेता थापाका अनुसार अध्यक्षद्वय दाहाल र ओलीबीच असमञ्जस्यता र अन्योलको स्थिति अझै देखिन्छ । त्यसकारण पनि काम गराइमा केही शिथिलता देखिएको हो । अब विस्तारै यो स्थिति रहँदैन भन्ने लागेको छ ।
जहाँसम्म भारतसंगको सीमा विवाद हल गर्ने विषय छ, यसलाई कुटनीतिक माध्यमबाट सल्टाउनुको विकल्प छैन । हिजोका दिनमा भारतलाई विस्तारवादी र सुरुङ युद्धका चर्चा चलाए पनि १२ बुँदे समझदारीपछि भारतलाई हेर्ने नेताहरुको दृष्टिकोणमा फेरबदल आएको छ । विवाद चर्का भाषणबाट होइन, कुटनीतिक पहलबाटै गर्नुपर्छ । प्रधानमन्त्रीले उच्चस्तरीय दूत पठाएर पहल गर्ने तयारी सुनिएको छ, त्यो राम्रो हो ।
भारतसंग सम्बन्धमा उतारचढाव आए, त्यसले मुलुकको राजनीतिक दिशा नै बदलिने स्थिति आउने थापाको विश्लेषण छ । उनका अनुसार भारतसंग सहज सम्बन्ध भयो भने अहिलेको व्यवस्थामा खासै समस्या नआउने तर द्वन्द्वको स्थितिमा पुगियो भने यसले राजनीतिक कोर्स नै फेरबदल हुनसक्छ ।
‘भारतसँग तनावको अवस्था आए गणतन्त्र, राष्ट्रियता र जनजीविका मध्ये के रोज्ने भन्ने प्रश्न उठन सक्छ । त्यो बेला नेपालीले पुनः दुःख पाउन सक्छन् । राष्ट्रियता र जनजीविकाका लागि सहन गर्नुको विकल्प छैन । सकभर त्यो अवस्था नआओस भनेर नेताहरु लाग्ने हो । यसको व्यवस्थापन गर्न नेताहरु सक्षम होलान भन्ने मेरो विश्वास छ । ’ थापाले भने ।
पछिल्लो समय नेपालका कम्युनिष्टसहित सबै पार्टीमा नातावाद, कृपावाद, धनवाद र परिवारवाद मौलाएकाले सुशासन कायम हुन नसकेको थापाको निष्कर्ष छ । ठूलो संघर्षको पृष्ठभूमि र जनताले आश गरेका नेताहरु नै धन र परिवारवादमा चुर्लुम्म भएकाले नेपालको कम्युनिष्ट आन्दोलनमाथि पनि थुप्रै प्रश्न खडा भएका छन् ।
यही बाटोमा गए यस्ता पार्टी र नेताहरुको अवसान अवश्यम्भावी छ । तर, खरानीमुनि पनि आगोका झिल्काहरु रहिरहन्छन् भने झै कम्युनिष्ट आन्दोलनको अवसानको बाटोमा जाने स्थिति आए तीनै झिल्काहरु आगोको लप्कामा परिणत हुने थापाको बुझाइ छ ।