खोखोमा नेपालको जित
तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ। कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो। जितसँगै नेपालले तीन अङ्क जोडेको छ। खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो।
पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा बङ्गलादेशले पनि १२ नै अङ्क जोड्यो। दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो। तेस्रो टर्नमा बङ्गलादेशले सात अङ्क जोड्दा नेपाल २१–१९ ले विजयी भयो। नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार÷चार अङ्क जोडे।
नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ। आज नै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई २१–८ अङ्कले पराजित ग¥यो। त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई ११–९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ। जितसँगै नेपाली महिला टोलीले तीन अङ्क जोडेको छ।
पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अङ्क जोड्यो। दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशलाई जम्मा पाँच अङ्क जोड्न दियो। पहिलो इनिङको समाप्तिमा नेपाल ११–५ को बलियो स्थितिमा रह्यो। दोस्रो इनिङको पहिलो टर्नमा बङ्गलादेशले चार अङ्क मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो। नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ।