प्रधानमन्त्रीको सट्टा उपप्रधानमन्त्री पोखरेलले सम्बोधन गर्ने
काठमाडाैँ – १३ औं दक्षिण एसियाली खेलकुदको उद्घाटन समारोहको सम्बाेधन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनिए स्वास्थ्यका कारण अन्ततः उपप्रधान तथा रक्षामन्त्री पोखरेलले सम्बाेधन गर्ने भएका हुन्।
आइतबार साँझ हुने उद्घाटन समारोहमा प्रधानमन्त्रीको ओलीले सम्बाेधन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थ्य भएपछि सो जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पोखरेलको भागमा परेको हो।
‘साग गेमको उद्घाटन सम्बोधन प्रधानमन्त्रीले गर्ने तय भएको थियो, तर प्रधानमन्त्री अस्वस्थ्य भए पछि त्यो सम्भव भएन,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘अब प्रधानमन्त्रीको सम्बाेधन उपप्रधान तथा रक्षामन्त्रीले गर्नेछन्।’ उनका अनुसार प्रधानमन्त्री ओलीले उद्घाटन समारोहप्रति निकै चासो राखेकाले अस्पतालको शैय्यामा ट्याबलेटमा हेर्नछन् ।
गत मंगलबार पेट दुखेको भन्दै शिक्षण अस्पताल पुगेका ओलीले सोही दिन एपेन्डिसाइटसको अप्रेसन गरेका थिए। सो अप्रेसनपछि संक्रमण बढ्ने खतरा देखिएपछि उनी एक सातादेखि अस्पतालको सघन उपचार कक्षमा रहेर उपचार गराइरहेका छन्।
१३औं साग गेमको उद्घाटन भने राष्ट्रपति विद्यादेवी भण्डारीले केही बेरमा गर्दै छिन्। दशरथ रंगाशालामा विशेष समारोहबीच साग खेलको उद्घाटन हुँदै छ। नेपालको साग गेम हुन लागेको यो तेस्रोपटक हो, यसअघि पहिलो र आठौँ खेल नेपालले आयोजना गरेको थियो।