सप्तरीको छिन्नमस्तामा राजपाकी उम्मेद्वार विजयी

राजविराजः सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्षका लागि शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) की उम्मेदवार प्रमिलादेवी यादव निर्वाचित भएका छन् ।
यादव ५४० मत ल्याएर निर्वाचित भएकी हुन् । आफ्ना निकटतम प्रतिद्वन्दीलाई ११ मतले पछि पार्दै यादव विजयी भएकी हुन् । निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी पार्टी (नेकपा) उम्मेदवार अछेलाल यादवले ५२९ मत प्राप्त गरे ।
यस्तै जनमत पार्टीका दिनेश कुमार यादव ११ र नेपाली कांग्रेसका शिवनारायण मण्डल ले १५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् । ६४६ महिला र ७५७ पुरुष गरी कुल १४०३ मतदाता रहेकोमा ५५३ पुरुष र ५६१ महिला गरी १११४ जनाले मतदान गरेका थिए।