वेस्ट इन्डिज विरुद्धको टी–२० सिरिज भारतले जित्यो

काठमाडौंः वेस्ट इन्डिज विरुद्धको टी–२० क्रिकेट सिरिज भारतले २–१ ले जितेको छ । अन्तिम खेलमा ६७ रनले विजयी भएसँगै भारतले २–१ ले सिरिज जितेको हो । भारतले दिएको २ सय ४१ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान किरण पोलार्डले ६८, शिमरोन हिटमायरले ४१ रन बनाए । बलिङमा कुलदीप यादव, भुवनेश्वर कुमार, दीपक चाहर र मोहम्मद शामीले २–२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ४० रन बनायो ।
उसका लागि केएल राहुलले ९१, रोहित शर्माले ७१, कप्तान विराट कोहलीले नटआउट ७० रन बनाए । बलिङमा सेल्डन कट्रेल र केसरिक विलियम्सले एक–एक विकेट लिए ।