१३ औं सागको उद्घाटन आज, राष्ट्रपति भण्डारीले उद्घाटने गर्ने

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटन आज दशरथ रंगशालामा हुँदैछ । सन् १९८४ मा पहिलो संस्करणको साग आयोजना भएको दशरथ रंगशालामा ३५ बर्षपछि तेस्रो संस्करणको सागको उद्घाटन हुन लागेको हो ।
दुई संस्करणको साग यसअघि नै सफलतासाथ सम्पन्न गरेको नेपाल तेस्रो सागलाई पनि भव्य पार्ने योजनामा छ ।
सागको उद्घाटनका लागि दशरथ रंगशाला सिंगारिएको छ। मैदानको हरियो दुबो, एथलेटिक्स ट्रयाकको रातो रंग, राता, पहेंलो निलो, हरियो रंगका प्यारापिटका सिट, चारैतिर टाकिएको प्यारापिटको छानो लगायतले यतिबेला रंगशालाको सुन्दरता बढाएका छन् ।
उद्घाटनका लागि जसरी रंगशाला सजिएको छ त्यसैगरी काठमाडौंका विभिन्न चोक तथा पाटीहरु सिंगारिएका छन् । पहिलो र आठौं साग आयोजना गरेको काठमाडौं तेह्रौं सागलाई अविष्मरणिय बनाउने योजनामा छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव तथा आयोजना समितिका संयोजक रमेश कुमार सिलवालका अनुसार सागको उद्घाटनमा १५ हजार जनाको प्रस्तुति रहने छ । जसमा शसस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, विद्यार्थी, झाँक्री र कलाकारहरु रहेका छन् ।
१५ हजारमध्ये ४ हजार ५ सय सशस्त्र प्रहरी, १ हजार ५ सय नेपाली सेना, १ हजार ५ सय नेपाल प्रहरी, ३ हजार विद्यार्थी, ४ हजार झाँक्री समुहको प्रस्तुति रहने छ । त्यस्तै उद्घाटन कार्यक्रममा ३ सय व्यवसायिक कलाकारले नेपाली कला सस्कृती झल्काउने गरी प्रस्तुति देखाउँनेछन् ।
सागको उद्घाटन शर्तमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्ने कार्यक्रम छ । कीर्तिमानी खेलाडी दिपक बिष्टले दिप प्रज्वलन गर्नेछन् भने सागका स्वर्णधारी कमल बहादुर अधिकारीले मार्चपासमा नेपालको झण्डा बोक्ने छन् ।
साग भरका लागि २२ हजार जनाले खेलाडी अफिसियल तथा प्रशिक्षकहरुलाई सुरक्षा प्रदान गर्ने शनिबारको नियमित पत्रकार भेटघाटमा सदस्य सचिव सिलवालले बताए ।