मुख्य समाचार

प्रचण्डको प्रतिवेदनमा के आउँदैछन् नयाँ विषय?

प्रचण्डको प्रतिवेदनमा के आउँदैछन् नयाँ विषय?

काठमाडौंः शनिबार बस्ने सचिवालय र आइतबार बस्ने स्थायी कमिटी बैठकमा पेस गर्ने गरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तयार पारेका छन् । प्रतिवेदनको प्रारम्भिक मस्यौदा बनिसकेको र यसमा आवश्यक परामर्श गरेर शुक्रबार अन्तिम रुप दिने दाहालको तयारी छ । पार्टीमा कार्यकारी अध्यक्षको भूमिका पाएपछि प्रचण्डले पहिलो पटक लिखित प्रतिवेदन पेस गर्न थालेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी सचिवालयका सदस्यहरु र केही मन्त्रीहरुसाँग परामर्श गरेर दाहालले राजनीतिक एवं संगठनात्मक प्रस्ताव बनाएको बिहीबार उनीसँग भेट गरेका एक नेताले बताए। दाहालले तयार गरेको प्रतिवेदनमा पार्टी र सरकारका काम र उप–चुनावको समीक्षासागै आगामी कार्ययोजना पनि छ ।

ती नेताका अनुसार यसबाहेक प्रचण्डले तयार गरेको प्रतिवेदनमा पोलिटव्यूरो गठनको प्रस्ताव, पार्टी–संगठनको परिचालन र देशव्यापी संगठन सुदृढीकरणको अभियान चलाउने प्रस्ताव छ ।

‘लामोसमय कार्ययोजनाविहीन बनेको पार्टीलाई अब एउटा गतिमा दौडाउने गरी प्रतिवेदन आउँछ ।’ दाहालसँग भेट गरेका ती नेताले भने, ‘प्रतिवेदन पहिला सचिवालयमा पेस हुन्छ र आवश्यक सुझावपछि स्थायी कमिटीमा जान्छ । मूलत यो प्रतिवेदन एक वर्षपछि बस्न थालेको स्थायी कमिटीको बैठकमा पेस गर्ने गरी बनाइएको छ ।’

नेकपाको मंसिर २३ गते बसेको सचिवालय बैठकले पार्टी स्थायी कमिटीको दोस्रो बैठक मंसिर २९ र ३० गते पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा शनिबार सचिवालयको बैठक बस्दैछ ।

२३ गतेको सचिवालय बैठकले संगठन विभागबाट २०७६ भदौ ९ गते प्रस्तुत प्रस्तावलाई परिमार्जन गरी आगामी बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड र नेता वामदेव गौतमलाई दिएको थियो। त्यसैका आधारमा संगठनात्मक प्रस्ताव आउनेछ ।

यसबाहेक स्थायी कमिटी बैठकबाट नेकपाले संगठन विभागको अधिकार र कर्तव्यसम्बन्धी पार्टी नियमावलीमा उल्लिखित व्यवस्थामा परिमार्जन एवं संशोधन गर्ने तयारी पनि गरेको छ ।

नेकपाले यसअघि नै विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । अध्यक्ष दाहालको हस्ताक्षरमा भदौ १३ गते जारी भएको अन्तरपार्टी निर्देशिका–२ मा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको उल्लेख थियो ।

‘हामीले छिट्टै एकता–एकीकरणका बाँकी कामहरू सम्पन्न गर्नेछौं। यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,’ अन्तरपार्टी निर्देशिकामा भनिएको छ,’ अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्छौं।’

विशेष अभियान सञ्चालन गर्ने कुरा गत वर्ष बसेको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदनमा पनि छ । यिनै निर्णयका आधारमा अध्यक्ष दाहाले अर्का अध्यक्ष ओलीसँग परामर्श गरेर ६ महिने जनपरिचालन अभियानको कार्ययोजना पनि तयार गरेका छन् ।

यस्तै स्थायी कमिटीको गत वर्षको बैठकबाट सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा गठित कार्यदलको सिफारिस समेतका आधारमा पार्टी विधानमा संशोधन सम्बन्धी प्रस्ताव तयार गरेको छ ।

उक्त प्रस्ताव स्थायी कमिटीको आगामी बैठकमा प्रस्तुत हुँदैछ। स्थायी कमिटीमा पेस भई केन्द्रीय कमिटीबाट संसोधित विधान पारित भए यसले पार्टीको दीर्धकालीन लक्ष्य किटान र वामदेव गौतमलाई उपाध्यक्ष बनाउने बाटो खोल्नेछ ।

गत वर्ष बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए। आगामी बैठकमा पनि स्वास्थ्य अवस्थाका कारण ओली उपस्थित हुने सम्भावना कम छ। तर, स्थायी कमिटीमा पेस हुने प्रतिवेदन दाहालको एकल वा दुवै अध्यक्षको तर्फबाट पेस हुने भन्नेबारे प्रचण्डसँग भेट गरेका नेताहरुले केही बताएका छैनन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा प्रतिवेदन

विशेष