स्वास्थ्य

चिसोसँगै रोगहरुको संक्रमण बढ्दो

चिसोसँगै रोगहरुको संक्रमण बढ्दो

काठमाडौ । जाडो मौसम सुरु भएसँगै काठमाडौ उपत्यकालगायत देशभरका अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । बढ्दो चिसोका कारण दम, युरिक एसिड, उच्च रक्तचाप, मधुमेहका रोगीहरू प्रभावित हुन थालेका छन् ।

तापक्रम घटेसँगै चिसो सिजनमा देखापर्ने स्क्रबटाइफस, रोटाभाइरस, नोरोभाइरस र श्वासप्रश्वाससम्बन्धी रोगहरूको संक्रमणसमेत अत्यधिक रूपमा बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । चिसोबाट बच्न नसकेमा रुघाखोकी र ज्वरोको समस्यासमेत बढ्न सक्ने उनीहरूको भनाइ छ । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरूमा यस्तो समस्या बढी देखिने भए पनि लापर्बाही गर्दा युवायुवतीसमेत बढी प्रभावित हुन सक्ने चिकित्सकहरूको निष्कर्ष छ ।

मुख्यतः रुघाखोकी र ज्वरो आएपछि स्थानीय तथा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दै गएको पाइएको छ । मौसम परिवर्तनसँगै बिरामीहरूको संख्या बढ्दै गएको अस्पतालहरूले जनाएका छन् । चिकित्सकहरूका अनुसार यो समयमा स्क्रबटाइफस, रोटाभाइरस, नोरोभाइरस, उच्च रक्तचाप, डेंगु, श्वासप्रश्वाससम्बन्धी समस्या ९दम, निमोनिया०लगायतका बिरामी अस्पताल पुग्ने गरेका छन् ।
चिकित्सकहरूका अनुसार मौसमी रुघाखोकी ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरू बिरामी हुने गर्दछन् । जाडो मौसम सुरु हुँदा तथा अन्त्यमा रुघाखोकी ज्वरो, इन्फ्लुएन्जाका बिरामी बढी देखिने चिकित्सकहरू बताउँछन् ।

यस्तै, जाडोयामको समयमा स्क्रबटाइफसका बिरामीहरू पनि अस्पताल पुग्ने गरेको पाइएको छ । एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा ९माइट०को टोकाइबाट लाग्ने रोगलाई स्क्रबटाइफस भन्ने गरिन्छ । बारी, खेत, झाडी, घाँस आदि भएको ठाउँमा बस्ने मुसा तथा छुचुन्द्रो प्रजातिमा सो प्रजातिका जीवाणु पाइन्छ ।

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया संक्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको संक्रमण बढेको स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन।  

चिसो

विशेष