खेल

‘ए’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड भिड्दै

‘ए’ डिभिजन लिग आजदेखि, उद्घाटन खेलमा मछिन्द्र र ब्रिगेड भिड्दै

काठमाडौंः शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार लिगको खेल तालिका सार्वजनिक गरेको हो ।

लिगमा ‘ए’ डिभिजनका १४ क्बलबीच प्रतिस्पर्धा हुनेछ । एन्फाले हरेक राउन्डमा सात खेल सञ्चालन गर्नेछ । पहिलो दिन एक खेल भए पनि आइतबारदेखि भने प्रत्येक दिन दुई खेल सञ्चालन हुनेछ । लिगका लागि १४ वटै क्लबले खेलाडी अनुबन्ध र तयारी सुरु गरेका छन् । दशरथ रंगशालामा साढे चार वर्षपछि लिग सञ्चालन हुन लागेको हो ।

१३औं दक्षिण एसियाली खेलकुद (साग) को भव्य समापनसँगै दशरथ रंगशाला फेरि फुटबलमय बन्दैछ । २०७२ सालको विनाशकारी भूकम्पले दशरथ रंगशालामा क्षति पुगेका कारण त्यहाँ खेलकुदका सम्पूर्ण गतिविधि ठप्प बनेको थियो । लिगमा कुल ९१ खेल हुनेछ । लिगमा अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

एन्फाले यसपटक रेलिगेसनसहितको लिग सञ्चालन गर्न लागेको हो । एन्फाले फुटबलको माहोल बनाउने भन्दै गत वर्ष रेलिगेसनबिनाको लिग सञ्चालन गरेको थियो । गत वर्ष मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो । मनाङ मस्र्याङ्दी क्लबले हालसम्म ८ पटक लिगको उपाधि जितिसकेको छ । ‘ए’ डिभिजन लिगको यो ४३औं संस्करण हो । 

‘ए’ डिभिजन लिग फुटबल मछिन्द्रविरुद्ध ब्रिगेड दशरथ रंगशाला

विशेष