चिनिया औषधी र खोपमा सांसदले उठाए प्रश्न
काठमाडौँ । सांसदहरुले चीनबाट आयात गरिएका औषधी तथा खोपहरुबारे प्रश्न उठाएका छन् । त्यहाँबाट आयात गरिएका खोप विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट प्रमाणित नभएको सांसद्हरुले बताए ।
चीनसहित इन्डोनेसिया र बंगलादेशबाट ल्याइएका खोप तथा औषधीमा पनि त्यस्तो समस्या रहेको सांसद्हरुको गुनासो छ । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले ती देशबाट ल्याउने गरिएको औषधी र भ्याक्सिन डब्लुएचओ मान्यता प्राप्त नभएको बताएका हुन् ।
अधिकांश स्थानीय तहमा भ्याक्सिनहरु पुर्याउँदा त्यसको टेम्प्रेचर कायम राख्ने कुनै उपकरण नभएका कारण भ्याक्सिनले सहि काम गर्ने र रोगहरुको उन्मुलन, निवारण तथा नियन्त्रण हुने अवस्था नरहेको उनले बताए ।
छलफलमा स्वास्थ्य विज्ञहरुले नेपालमा प्रयोग हुने कुनैपनि खोपहरु परीक्षणका लागि नभएको दाबी गरे । उनीहरुले अन्य मुलुकमा प्रचलित खोपहरु नै नेपालमा पनि प्रयोग गरिएको बताएका हुन् ।
बैठकमा समिति सभापति जयपुरी घर्तीले खोपहरुको प्रभावकारिता बढ्दै गएको भएपनि प्रयोगमा रहेका औषधीहरुको गुणस्तरका विषयमा अनुसन्धान आवश्यक रहेको बताइन् ।
उनले महिलाको पाठेघरको क्यान्सरको खोप तत्काल प्रकृया पूरा गरी हरेक स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने बताइन् ।