केही स्थानमा आज अझै बर्षा र हिमपातको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आइतबारको मौसमको पूर्वानुमानबारे सूचना जारी गरेको छ । न्यून चापीय प्रणालीको प्रभावले देशभरीको भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली हुने जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
आइतबार दिउँसो देशका अधिकांश भू–भागमा बदली हुनेछ । देशको पश्चिमी क्षेत्रका केही स्थानमा, मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ ।
यसैगरी, हिमाली क्षेत्रहरुमा भने हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ । रातिको समयमा भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । हिमाली क्षेत्रमा रातिको समयमा पनि हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।