खेल

४ स्वर्ण विजेता गौरिका भन्छिन्, ‘मलाई नेपाली होइन भन्दा साह्रै नरमाइलो लाग्छ’

४ स्वर्ण विजेता गौरिका भन्छिन्, ‘मलाई नेपाली होइन भन्दा साह्रै नरमाइलो लाग्छ’

काठमाडौंः बेलायतमा बस्ने छोरी गरिमा र ज्वाइँ पारस भेट्न ससुरा लोकभक्त राणा र सासू कविता राणा बेलाबेला उता गइराख्थे । चिसो बिहान पनि सबेरै कलिली नातिनी गौरिकालाई उठाएर स्विमिङ खेल्न छोरीले लैजाँदा हजुरआमाको मन साह्रै कुँडिन्थ्यो ।

स्विमिङ पुलको पानी र क्लोरिनले गर्दा गौरिकालाई एक्जिमा भयो । शरीरका छालामा कडा फोकाजस्ता देखिन थाल्यो । नातिनीको अवस्था देखेर हजुरआमा कविताले एक रात भनिन्, ‘तिमीलाई स्विमिङ खेल्न मन छैन भने मलाई भन । म तिम्रो बुबाआमालाई सम्झाउँछु । यसरी आफैंलाई गाह्रो हुने काम नगर ।’

तर नातिनी गौरिकाले स्विमिङ खेल्न मन लाग्ने र परिवारको करले मात्रै नभएर आफैं यसमा लागेको बताएपछि हजुरआमाका आँखा रसाए । त्यतिबेला नातिनीको मायाले रसाएको कविताको आँखा यस पटक भने दक्षिण एसियाली खेलकुद सागको एकै संस्करणमा ४ स्वर्ण जित्ने कीर्तिमान आफ्नै आँखाअगाडि बनेपछि झन् बढी रसाए।

सागको १३औं संस्करण नेपामला आयोजना हुने भएपछि गौरिका थप हौसिइन् । अघिल्लो संस्करणमा रजत पदकमा अड्किएको स्वर्णिम सपनालाई आफ्नै घरमा हुने प्रतियोगितामा पूरा गर्न उनी चाहिन्थिन् । तर नेपालमै केही यस्ता व्यक्ति पनि थिए, जो गौरिकाले प्रतियोगितामा भाग लिएकामा भन्दा नलिएकामा खुसी हुन्थे । आफ्नै देशका लागि स्वर्ण जित्ने गौरिकाको सपनाको अघि कसैको केही चलेन । अन्ततः उनले प्रतियोगितामा भाग लिइन्, कीर्तिमानको ओइरै लगाइन् ।

पहिलो स्वर्णभन्दा पनि दोस्रो आफ्ना लागि बढी यादगार भएको उनको अनुभव छ। दोस्रोमा कम्पिटिसन पनि ज्यादा भएकाले त्यो क्षण भुल्न नभुल्ने उनले बताइन् । तेस्रो र चौथो जित्दा भने आफ्नो राष्ट्रका लागि केही गर्नुपर्छ भन्ने भावनाले प्रेरणा दिएको उनले सुनाइन् ।  

‘म विदेशमा बस्छु भन्दैमा नेपालको होइन भन्छन् । त्यो सुन्दा साह्रै नरमाइलो लाग्छ । मेरा बाआमा र मेरो पनि नेपालकै पासपोर्ट हो । म पनि नेपाली नै हुँ । मैले जितेका पदक पनि नेपाल र नेपालीकै लागि हो,’ भावुक मुद्रामा उनी प्रस्तुत भइन् । यो खबर नेपाल साप्ताहिकबाट लिइएको हो ।

गौरिका सिंह

विशेष