द्रुतमार्ग निर्माणका लागि २७ हजार बढी रुख काटिए
बारा । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६ सय ६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएको द्रुतमार्ग आयोजना कार्यान्वयन महाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए ।
बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा हुने उनले बताएका छन् । बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने पहाडीले जानकारी दिए ।
सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्न वन मन्त्रालयसँग अनुमति लिइएको छ । द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ ।
वातावरणीय मापदण्डअनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ भने वृक्षरोपणको काम पनि शुरु गरिसकेको सेनाले जनाएको छ ।