मिस वर्ल्डमा अनुष्काले जितेका २ अवार्ड
काठमाडौंः मिस वर्ल्ड २०१९ मा मिस नेपाल अनुष्का श्रेष्ठले दुईवटा उपाधि जितेकी छिन् । मिस वर्ल्डको ताज भने जमैकाकी टोनी एन सिंहले परिरिएकी छिन् । मिस नेपाल अनुष्का सेमिफाइनल अर्थात् टप–१२ सम्म पुगेर बाहिरिएकी हुन् । उनले ‘ब्युटी विथ पर्पोज’ र ‘मल्टिमिडिया अवार्ड’ जितिन् ।
सन् २०१८ को मिस वर्ल्डमा सहभागी तत्कालीन मिस नेपाल शृंखला खतिवडाले पनि दुवै उपाधि जितेकी थिइन् । यस वर्ष टप–१२ मा क्रमशः केन्या, नाइजेरिया, ब्राजिल, मेक्सिको, भारत, नेपाल, फिलिपिन्स, भियतनाम, जमैका, फ्रान्स, रुस र कुक आइल्यान्ड्सका सुन्दरीहरू परे ।
श्रेष्ठले आफ्नो फेसबुक पेजमार्फत दुईवटा अवार्ड जिताउन भोटिङ गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । ‘भिजिट नेपाल २०२० र नेपाललाई विश्वमा चिनाउन सक्दो प्रयास गर्नेछु, सबैलाई धेरै–धेरै धन्यवाद,’ उनले भनेकी छिन्, ‘मिस वर्ल्डको टप–५ मा पुग्न सफल भइनँ, मैले आफ्नो तर्फबाट राम्रो गरेँ । हामी गोर्खाली सधैँ र जहाँ पनि राम्रो गर्ने प्रयास गर्छौं ।’
मिस वल्र्डमा मिस फ्रान्सले फस्ट रनरअप र मिस इन्डियाले सेकेन्ड रनरअपको उपाधि हात पारे । टप–५ मा नाइजेरिया, ब्राजिल, भारत, जमैका र फ्रान्सका सुन्दरीहरू पुगेका थिए । प्रतियोगितामा एक सय ११ देशका सुन्दरी सहभागी थिए ।
अनुष्का श्रेष्ठ मिस नेपाल मिस वर्ल्ड २०१९