भिडियो Breaking News कभर स्टोरी

ओली र प्रचण्डबाट जनताको विश्वासमाथि खेलवाड ( भिडियोसहित) 

ओली र प्रचण्डबाट जनताको विश्वासमाथि खेलवाड ( भिडियोसहित) 

वरिष्ठ पत्रकार एवम विश्लेषक हरिहर विरही वर्तमान राजनीतिक प्रणाली, राजनीतिक संस्कार र नेताहरुको आचरणबाट सन्तुष्ट छैनन् । मुलुकमा गणतन्त्र ल्याउने आन्दोलनमा आफै सक्रिय भएका विरही प्रमुख राजनीतिक दल र नेताहरुबाटै जनविरोधी र अलोकतान्त्रिक गतिविधि भैरहेको भन्दै यसले व्यवस्थामाथि नै चुनौती ल्याउन सक्ने खतरा औंल्याउँछन् । 

विरही भन्छन्, ‘ सबैको ध्यान आफनो गुट र नातागोतालाई बलियो बनाउनमा छ । के सत्तापक्ष के प्रतिपक्षी सबै दल र नेताहरु तुच्छ स्वार्थका लागि यतिठूलो राजनीतिक परिवर्तनको खिल्ली उडाइरहेका छन् । यो लोकतन्त्रको दुरुपयोग हो । यो कदापी राम्रो होइन । यसले हामीले संघर्ष गरेर ल्याएको व्यवस्थामाथि नै चुनौती खडा गर्छ ।’

अझ सरकार चलाइरहेको नेकपा र यसका प्रमुख दुई नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल झन उदासिन देखिए । वास्तवमा भन्ने हो भने उनीहरुले जनताको विश्वासमाथि खेलवाड गरेका छन् । हिजो निर्वाचनमा जाँदा अनेक सपना देखाए । त्यही अनुसारको घोषणापत्र बनाए । निर्वाचन जितेपछि लगभग असम्भव जस्ता सपना बाँडे । आज व्यवहार हेर्दा केहीपनि छैन । यो जनतामाथिको धोका हो । 

भ्रष्टाचारलाई संस्थागत गर्नु, राज्यकोषमा लुट मच्चाउनु, अपराधिलाई संरक्षण गर्नु, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत विषयप्रति पूर्ण उदासिन हुनु यो सरकारका विशेषता नै भएका छन् । 

सरकार संविधानप्रति पनि इमान्दार देखिएन । संघीय मूल्य मान्यतालाई दैनिक उल्लंघन गरिरहेको छ । जनताका नैसर्गिक र मौलिक अधिकार कुल्चिरहेको छ । जति विधेयक आउँछन् प्रायः सबै संविधान विपरित छन् । यो अधिनायकवादको यात्रा हो । संसारमा कहिंपनि निरंकुशता टिकेको छैन । नेकपा र यो सरकार यसरी नै चल्ने हो भने यसको अवसान अवश्यम्भावी छ । 

जहाँसम्म प्रतिपक्षी कांग्रेसको भूमिका छ, त्यो केही पनि देखिएको छैन । नेतृत्वको असक्षमताका कारण कांग्रेसको संगठन मात्र होइन राष्ट्रिय राजनीतिमा खेल्नुपर्ने भूमिकासमेत निस्प्रभावी छ । 

नेतृत्वमा बसेका प्रायः सबै नेताहरु आ–आफनो गुटमा रमाउने, आफनालाई मात्र पहुँच र संरक्षण दिन लागेकाले कांग्रेस कमजोर भएको हो । कांग्रेस विचारमा प्रजातान्त्रिक भएपनि व्यवहारमा निरंकुश छ । आफैले बनाएको विधान आफै उल्लंघन गर्दै हिंड्ने यसको इतिहास नै छ । 

खैर जे जस्तो भएपनि आन्तरिकरुपमा जति किचलो हुँदा पनि मुलुकलाई संकट पर्दा कांग्रेस एकढिक्का भएर अघि बढ्ने गरेको छ । लोकतन्त्रको पर्याय भनेकै कांग्रेस भन्ने स्थापित भएको छ । आज रामचन्द्र र देउवाबीच जति कटुता भएपनि लोकतन्त्रका सवालमा दुवै नेता सबथोक विर्षेर एउटै मोर्चामा स्वतः समाहित हुन्छन् । यो कांग्रेसको चरित्र हो । 

राजनीतिक दलहरु जिम्मेवार भएनन् भन्दैमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै खतरामा छ भन्नु गलत हो । अहिले एकथरीले यसका लागि प्रयास गरेपनि त्यो असफल प्रयास हो । त्यो अवस्था आए सबै राजनीतिक शक्ति एकजुट भएर त्यसको सामना गर्छन् । विगतमा छिमेकी देशहरुको दवावलाई पनि दलहरुले नकारेको इतिहास ताजै छ । 

‘राजसंस्था फर्किने कुरा दिवास्वप्न हो । यो सपनामा पनि नचिताए हुन्छ । कतिपयले सेनाको कुरा गर्दैछन् । सेनाबाट लोकतन्त्रमाथि कुनै खतरा छैन । व्यवस्था यही ठीक हो । नेताहरुलाई जिम्मेवार बनाउन नागरिक लाग्नु पर्दछ । केही कमीकमजोरी होलान्, त्यसलाई सुधार्नु नै बुद्धिमानी हो, व्यवस्था परिवर्तनको कुरा वाहियात हो । ’ विरहीको निष्कर्ष छ । 

विशेष