कुशे गाउँपालिकामा घुम्ती शिविर, अशक्त बालबालिका लाभान्वित
जाजरकोट । जाजरकोटको कुशे गाउँपालिकामा शारिरीक रुपमा अशक्त बालबालिकाका लागि घुम्ती शिबिर सञ्चालन गरिएको छ । गाउँपालिकाको आयोजना, सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा पहाडी क्षेत्र विकास अभियान जाजरकोटको सामाजिक परिचालनमा अपाङ्गता भएका बालबालिकाहरुलाई लक्षित गरेर घुम्ती शिविर सञ्चालन गरिएको हो ।
शिविरमा अपाङ्गता भएका बालबालिकाहरुको स्वास्थ्य परीक्षण, अपाङ्ग पहिचान तथा परिचयपत्र वितरण लगायतका काम गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए। गाउँपालिकाको घरंगा र टापुचौरमा संचालन गरिएको निःशुल्क घुम्ती शिवीरमा १८ बर्ष मुनिका २ सय ४८ जना अपाङ्ग बालबालिकाहरु सहभागी थिए ।
शिविरबाट १ सय ३९ जना बालक र १ सय ९ जना बालिकाहरुलाई लाभ पुगेको उनले बताए । शिविरबाट ‘क’ बर्गको अपाङ्गता परिचयपत्र १ जनाले ‘ख’ बर्गको अपाङ्गता परिचयपत्र १४ जनाले र ‘ग’ बर्गको अपाङ्गता परिचयपत्र १६ जनाले लिएका थिए । साथै ‘घ’ बर्गको अपाङ्गता परिचयपत्र २२ जना गरी ५३ जनाले अपाङ्गता परिचयपत्र लिएका थिए । साथै ८ जनाले सहायक सामग्री पाए।
सहायक सामग्रीको लागि नेपाल समाज कल्याण संघले सहयोग गरेको थियो भने, ५८ जनालाई बाहिर सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ ।