पोखरा प्रिमियर लिग : काडमाडौँ गोल्डेन वारिवर्सको पहिलो जित
ज्ञानेन्द्र मल्लले हाने शतक
काठमाडौँ । काठमाडौँ गोल्डेन वारिवर्सले पोखरा प्रिमियर लिग ‘पीपीएल’ क्रिकेटमा पहिलो जित हात पारेको छ । आज पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले धनगढी ब्लुजलाई १ सय ६ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
काठमाडौंले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको धनगढीले १६ ओभरमा अलआउट हुँदै ७९ रनमा समेटियो । धनगढीका लागि सृमान्था विजारत्नेले १५, रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए । यस्तै पवन सर्राफ र सुबोध भाटीले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । खराब मौसमले गर्दा ढिला सुरु भएको खेल १७ ओभरमा घटाइएको थियो । काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले १ सय रनको शतकीय इनिङ्स खेले ।
यस्तै जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रन बनाए । धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए । जितसंगै काठमाडौंले अघिल्लो चरणको सम्भावना कायम राखेको छ ।
यसअघि काठमाडौं पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो । धनगढीको भने यो पहिलो हार हो । पहिलो खेलमा उसले विराटनगरलाई हराएको थियो ।