समाज

समृद्धिका लागि सत्ता र प्रतिपक्ष सँगसँगै : मन्त्री गुरुङ

समृद्धिका लागि सत्ता र प्रतिपक्ष सँगसँगै : मन्त्री गुरुङ

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मुलुकको समृद्धिका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर काम गर्नुको विकल्प नरहेको बताउनु भएको छ । मन्त्री गुरुङले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानलाई पूरा गर्न लागि पर्न पनि स्रष्टाहरुलाई आग्रह गर्नु भयो ।

गौरीशंकर च्छो–रोल्पा मिडिया प्रालिले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘स्रष्टा सम्मान’ कार्यक्रममा बोल्दै उहाँले नेपाली जनताको चाहना अनुसार मुलुकलाई समृद्ध बनाउन कलाकार, पत्रकार र साहित्यकारहरुले पनि अभियाननै सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।

‘मुलुकलाई समृद्ध बनाउने अभियानमा कलाकार, पत्रकार, साहित्यकार सबैले अभियाननै संचालन गर्नु पर्दछ,’ मन्त्री गुरुङले भन्नु भयो, ‘त्यसका लागि आवश्यक सबै खालको सहयोग गर्न सरकार प्रतिवद्ध छ ।’ मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आएका सबै सुझाव, आलोचना र टिप्पणीलाई सरकारले आत्मसात गरेर अघि बढने पनि बताउनु भयो । 

मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने नेपाली जनताको चाहनालाई पूरा गर्ने अभियानमा कमीकम्जोरी भए सच्याएर अघि बढन सरकार तयार रहेको पनि बताउनु भयो । कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । 
 

विशेष