न्यूजिल्याण्डविरुद्ध कप्तान रुटको दोहोरो शतक, बलियो अवस्थामा इंग्ल्याण्ड
काठमाडौंः न्यूजिल्याण्ड विरुद्धको टेष्ट क्रिकेट सिरिजको दोस्रो खेलको पहिलो इनिङ्समा इंग्ल्याण्ड टोलीका कप्तान जो रुटले दोहोरो शतक पूरा गरेका छन् । उनले २२ चौकाको मद्दतमा ४१२ बलमा दोहोरो शतक बनाएका हुन् ।
रुटको शतकसँगै दोस्रो खेलमा इंग्ल्याण्ड बलियो देखिएको छ । यो समाचार तयार पार्दासम्म उसले १५३ ओभरमा ५ विकेट गुमाएर ४ सय ३५ रन बनाएको छ ।
इंग्ल्याण्डले यसअघि रोरी बर्न्सलाई १०१, जो डेन्ली, डोम सिब्लीलाई ४–४, बेन स्टोक्सलाई २६ र जाक क्रालीलाई १ रनमा गुमाइसकेको छ ।
बलिङमा न्यूजिल्याण्डका टिम साउथीले २, म्याट हेन्री र नील वाग्नरले एक–एक विकेट लिइसकेका छन् ।
पहिलो इनिङ्समा घरेलु टिम न्यूजिल्याण्डले १२९.१ ओभरमा सबै विकेट गुमाएर ३ सय ७५ रन बनायो ।
उसका लागि टम लाथमले १०५, डेरिल मिचेलले ७५, बिजे वाटलिङले ५५, रस टेलरले ५३, मिचेल सान्टनरले २३, टिम साउथीले १८, हेनरि निकोलशले १६ रन बनाए ।
बलिङमा इंग्ल्याण्डका स्टुअर्ट ब्राडले ४, क्रिस वोक्सले ३, साम करनले २ र जोफ्रा आर्चरले १ विकेट लिए । न्यूजिल्याण्ड २ खेलको सिरिजमा १–० ले अगाडि छ ।
इंग्ल्याण्ड भर्सेस न्यूजिल्याण्ड टेष्ट क्रिकेट सिरिज जो रुट