मुख्य समाचार

पाँचथरको फाल्गुनन्दमा नेकपाका कुरुम्बाङ विजयी

पाँचथरको फाल्गुनन्दमा नेकपाका कुरुम्बाङ विजयी

पाँचथरः पाँचथरको फाल्गुनन्द गाँउपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वीरबहादुर कुरुम्बाङ निर्वाचित भएका छन् । 

नेपाली काँग्रेसको गढ मानिएको फाल्गुनन्दमा कुरुम्बाङ ८०६ मतको अन्तरले निर्वाचित भएका हुन् । गएराती सम्पन्न मतपरिणाम अनुसार कुरुम्बाङले ५३६९ मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका वृजहाङ आङदेम्बेले ४५६३ मत प्राप्त गरे ।

यहाँ समाजवादी पार्टीकी विमला आङदेम्बेले ३२० मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितेन चेम्जोङले २४० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुसुहाङ चेम्जोङले २८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का मोतिप्रसाद आङदेम्बेले ७५ मत, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङले २८ मत, मंगोल नेशनल अर्गनाइजेसनका उदय सुनुवारले १२ मत प्राप्त गरे ।

निर्वाचनमा १७९ मत बदर भएको निर्वान अधिकृत नवराज दुलालले जानकारी दिए । गाँउपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधनपछि त्यस पालिकामा उपनिर्वाचन भएको हो ।

२०२४ बैशाख २७ गते पाँचथरको आङसराङ गाविसमा स्व. बुवा नरबहादुर कुरुम्बाङ र आमा दिलमाया कुरुम्बाङको जेठो छोराको रुपमा वीरबहादुर कुरुम्बाङको जन्म भएको थियो ।

तीन बहिनी र एक भाईका दाजु कुरुम्बाङले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् ।

२०५२ सालमा तत्कालीन नेकपा (एमाले) बाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका कुरुम्बाङ २०५४ सालमा वडा सदस्य निर्वाचित भएका थिए । 
 

उपनिर्वाचन फाल्गुनन्द गाँउपालिका वीरबहादुर कुरुम्बाङ

विशेष