खेल

साग बिशेष: २० बर्षपछि दक्षिण एसियाली खेल नेपालमा

साग बिशेष: २० बर्षपछि दक्षिण एसियाली खेल नेपालमा

काठमाडौँ। दक्षिण एसियाली खेलकुदको महामेला काठमाडौंमा सुरु भएको छ । दशरथ रंगशालामा आइतबार आयोजित भव्य समारोहमा राष्ट्रपति विद्या भण्डारीले १३औँ साग उद्घाटन गरिन् । सन् १९८४ मा काठमाडौंबाट सुरु भएको यो प्रतियोगिताको आठौँ संस्करण पनि सन् १९९९ मा नेपालले नै आयोजना गरेको थियो । 

‘१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु भएको घोषणा गर्दछु,’ राष्ट्रपति भण्डारीको यो घोषणासँगै प्रतियोगिता आधिकारिक रूपमा सुरु भएको छ । ओलम्पियन तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाउने खेलाडी जितबहादुर केसीले रंगशालामा साग ‘टर्च’ भित्र्याए । त्यसपछि अन्य ओलम्पियन खेलाडी उमेश मास्के, राजेन्द्र भण्डारी, नयना शाक्य, वैकुण्ठ मानन्धर र दीपक विष्टले साग टर्चलाई रंगशाला परिक्रमा गराएका थिए । 

खेलाडीका तर्फबाट क्रिकेटर पारस खड्का र निर्णायकको तर्फबाट ब्याडमिन्टनका रेफ्री दीपक थापाले शपथ लिएका थिए ।  हालै निर्माण पूरा भएको दशरथ रंगशालामा कृत्रिम लाइटको प्रयोगले साग उद्घाटन विशेष देखिएको थियो । नेपाली सेना, एपिएफ र नेपाल पुलिस क्लबका कलाकारले प्रतियोगितामा सहभागी नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान र माल्दिभ्सको नक्साको मानव निर्मित कलात्मक आकृति बनाएर उनीहरूकै गीतमा नृत्य गर्दै स्वागत गरेका थिए । साथै, लेजर प्रोजेक्टरमार्फत सहभागी सबै देशको नक्सा र झन्डासहितको प्रस्तुति पनि राखिएको थियो । 

यो समाचार आजको नया पत्रिका दैनिकमा प्रकाशित छ।  

नेपालमा १३ औं साग २० बर्षपछि

विशेष